काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिमल कुमार होडाले वडा कार्यालयको सरकारी कार्यकक्षमा नेपाली कांग्रेसका दिवंगत नेताहरूको तस्वीर राखेका छन् ।
संघीयतासहितको नयाँ संविधानले स्थानीय तहहरूलाई पनि सरकारकै रूपमा अघि बढाएको अवस्थामा जनप्रतिनिधिको सरकारी कार्यकक्षमा राष्ट्रपति, प्रधानमन्त्री वा महानरपालिकाका प्रमुखका तस्वीरहरू राखिनुपर्ने भए पनि उनले आफ्ना पार्टीका दिंगत नेताहरूको तस्वीर सजाएका हुन् ।
प्राय: पालिका र वडा कार्यालयहरूमा राष्ट्रपति, प्रधानमन्त्री वा गाउँ तथा नगर प्रमुखहरूको तस्वीर देखिने गरेको भए पनि वडाध्यक्ष होडाले भने आफ्नो कार्यकक्षको शीरमा नेपाली कांग्रेसका स्वर्गीय नेताहरू विश्वेश्वर प्रसाद कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद काईराला र सुशील कोईरालालगायत नेताहरूको तस्वीर सजाएका छन् ।
जनप्रतिनिधि निर्वाचित भइसकेका र सरकारी कार्यालय प्रयोग गरिरहेका जनप्रतिनिधिले अमुक पार्टीका नेताहरूको तस्वीर सजाउनु अशोभनीय मात्र नभइ कार्यकक्षलाई पार्टीको अखडा वा वडाध्यक्षको शयनकक्षजस्तो बनाएको आभाष हुन्छ ।
काठमाडौं–७ का अध्यक्ष होडा नेपाली कांग्रेसबाट निर्वाचन प्रतिस्पर्धा गरी विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मदेवार कृष्णमणि भट्टलाई ५१ मतान्तरले हराउँदै होडा अध्यक्ष निर्वाचित भएका थिए ।
यसअघि सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका थिए । धरानलाई संघीय सरकारले महत्व नदिएको भन्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर यलम्बरको फोटो राखेका छन् ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS