काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले दरबार हत्याकाण्ड वीरेन्द्रका जेठा छोरा दीपेन्द्रले नै गराएको दाबी गरेका छन् ।
दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको अवसमा आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले राजा वीरेन्द्रलाई असल र नम्र व्यक्तिको रूपमा स्मरण गर्दै उक्त घटना दीपेन्द्रबाटै भएको दाबी गरेका हुन् ।
उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दीपेन्द्रको लभ अफयर नै रहेको खुलासा समेत गरेका छन् । ‘त्यो दिन शुक्रबारको दिन थियो । राज परिवारको जमघट हुने दिन थियो । त्यहाँ दीपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ । राजा वीरेन्द्रलाई गोली हानिसकेपछि अरुलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् ? हेरेको छ । त्यो बेलासम्म राजा मरिसकेका थिएनन् । त्यसबेलामा राजाको शीर उनको बहिनी (शोभा) को काखमा राखेर उनको बहिनीले हेरविचार गरिराखेकी थिइन् । त्यसबेलामा दीपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ । यो हत्या दीपेन्द्रले गरेको हो । कारण सबैलाई थाहा छ, कारण लभ अफयर नै हो । बिहेको सम्बन्ध हो । दीपेन्द्रको मुकुटधारी मान्छे आयो भन्ने कुरा होइन । दीपेन्द्रले वंशनाश गरेको हो ।’
त्यसबेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानविन हुन नसकेको उनको भनाइ छ । दीपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्यसमेत खुलाए । ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रमअनुसार बाहिर गएको बताए । घटना भएपछिमात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोनमार्फत जानकारी गराएको उनको दाबी छ । ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए । सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमलमाथि पुन अर्की राजकुमारी ढल्दा उनलाई केही नभएको बताए ।
‘दीपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए । एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन् र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन् । आजको दिनसम्म पनि पूर्वरानी कोमलको छातीमा गोली छ । त्यो निकाल्न सकिएको छैन । त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’ दीक्षितले भने ।
दीपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा निराजन र पारस रहेको दीक्षितको दाबी छ । अरु सबै परिवार रानीको पक्षमा रहेकाले दीपेन्द्रले छानीछानी गोली हानेको उनले बताए । पारसलाई दीपेन्द्रले नै छाडेको उनको भनाइ छ । दीपेन्द्रले सबै जनालाई मारेपछि निराजन जाइलाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे ।
अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राजपरिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने स्पष्ट गरे । वीरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर रानामगरले वीरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए ।
वीरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए । गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फ्क्नुपर्ने अवस्था आइपुगेको बताए ।
डा. दीक्षित दरबारनिकटका व्यक्ति हुन् ।
दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बने पनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ ।
FACEBOOK COMMENTS