काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
आज सोमबार बसेको बढुवा समितिकाे बैठकले अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । अधिकारी हाल बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडा मकवानपुरमा कार्यरत छन् ।
जनपद प्रहरी समूहमा रिक्त एक डीआईजी पदमा पदपूर्तिका लागि एसएसपी अधिकारीको एकल नाम सिफारिस गरिएको छ । यससँगै अधिकारीलाई न्याय मिलेको छ । यसअघि उनी वरीयताक्रममा अगाडि रहँदारहँदै पनि उनलाई विभिन्न चलखेल गरी बढुवा सिफारिस हुनबाट रोकिँदै आएको थियो ।
यसअघि रिक्त पाँच डीआईजी पदमा कात्तिक ९ गते अन्य पाँच जना एसएसपीलाई बढुवा गरिँदासमेत पहिलो वरीयतामा रहेका अधिकारीलाई भने बढुवा सिफारिसमै समावेश गरिएन ।
यस्तै, २०८० वैशाख २४ मा एसएसपी बढुवा सिफारिस गरिँदा पनि वरीयताक्रममा पहिलो नम्बरमा रहेका अधिकारीलाई समावेश गरिएको थिएन । बढुवा समितिले अधिकारीलाई छाडेर अरूलाई सिरियल नम्बरको आधारमा बढुवा गर्न सिफारिस गरेको थियो ।

अधिकारी अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । उनी काठमाडौं प्रहरी प्रमुख भएर आएपछि काठमाडौंमा गुण्डागर्दी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याएका थिए ।

अधिकारीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी प्रहरी सङ्गठनभित्र इमान्दार एवम् कर्तव्यनिष्ठ प्रहरी अधिकारीका रूपमा परिचित छन् ।

२०५५ वैशाखमा प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका अधिकारीले २०५६ असार ३ मा इन्स्पेक्टरमा नाम निकालेका थिए । त्यसपछि उनी आफ्नो ब्याचमा सधैं अगाडि रहँदै आएका छन् ।


FACEBOOK COMMENTS