गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको बताउँदै नेपालका राजनीतिक दलहरूले चुनावको नभइ देश र देशको विकासको चिन्ता गर्नुपर्ने बताएका हुन् ।
‘कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?,’ महामन्त्री शर्माले भने, ‘२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।’ उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त समेत सुनाए ।
महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको पनि स्पष्ट पारे । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनको जिकिर थियो । ‘देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्त्वपूर्ण कुरा होइन,’ उनले भने, उनले भने, ‘अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।’
उनले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।
FACEBOOK COMMENTS