काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
बैंकले असोज २९ गतेदेखि ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ नामक ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। ७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।
कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री तथा बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ।

ऋणपत्रमा लगानी गर्न इच्छुक सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने निष्काशनका लागि छुट्याइएको सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्रको निष्काशन छिटोमा कात्तिक १० गते बन्द हुनेछ भने सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा कात्तिक १२ गतेसम्म बिक्री खुला रहनेछ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले बैंकले समयमा वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्छ।
ऋणपत्रबाट प्राप्त हुने ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि प्रचलित नियमानुसार कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिने बैंकले जनाएको छ।