काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ ।
आधिकारिक रूपमा सार्वजनिक हुनुअगावै ‘गेस एन्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस’ नामक विशेष योजना सुरू गरेको छ ।
कम्पनीका अनुसार, यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन इ.मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् । कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफूले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइटमा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन् । मूल्य अनुमानका लागि ‘इ.मास ५ प्राइम’ भेरियन्टको दायरा २९.९९ लाख देखि ३४.९९ लाखसम्म तोकिएको छ । ‘प्रिमियम’ भेरियन्टको दायरा ३४.९९ लाख देखि ३९.९९ लाखसम्म निर्धारण गरिएको छ ।
कम्पनीले उल्लेख गरेअनुसार, यस योजनामा नियमपूर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्टबाट पाँचजना भाग्यशाली विजेता चयन गरिनेछ । विजेताहरूले यस योजनाका सर्त तथा नियमको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउने जनाएको छ ।
यसैबीच जगदम्बा मोटर्सले एक लाख बुकिङ रकम तोकेर प्रोटोन इ.मास ५ को बुकिङ समेत खुला गरेको छ । ग्राहकहरूले बैंक अथवा अनलाइनमार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाइ आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ ।