काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बोर्डको नीति कार्यक्रम तथा बजार विकासका प्राथमिकतासम्बन्धमा नेपालको पुँजीबजार अहिले विकासको एक महत्त्वपूर्ण मोडमा उभिएको छ ।
पुँजीबजारको संस्थागत विकास, डिजिटल प्रविधिको प्रयोग, लगानीकर्ताको पहुँच विस्तार तथा नियामकीय संरचनाको विकासका क्षेत्रमा कार्यहरू भएकोमा अझ सुधार गर्ने गरी बोर्डले नीति तथा कार्यक्रम तय गरेको जनाएको छ ।
यद्यपि, पुँजीबजारको आकार, गहिराइ, वित्तीय साधनहरूको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखी बोर्डको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यकम सार्वजनिक गरिएको जनाएको छ ।
यस्तो छ बोर्डको नीति तथा कार्यक्रमहरू
- धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाइनेछ ।
- लगानीकर्ताको सुरक्षालाई प्राथमिकता दिई फाइनफुलेन्सहरूबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार सामाजिक सञ्जालमार्फत हुने र बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगीविरुद्धका कार्यहरूउपर प्रभावकारी नियामकीय निगरानी गरिनेछ ।
- सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला पक्षहरूबाट प्राप्त सुझावसमेतलाई समेटी नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाइनेछ ।
- बोर्डबाट मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. सीडीएस एन्ड क्लिरिङ लि. तथा धितोपत्र दलाल व्यवसायीबीच समन्वय कायम गरी यवाशीघ्र सञ्चालन व्यवस्था मिलाइनेछ ।
- सूचीकरणपश्चात्को कारोबारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको तकइन अवधि र बाँडफाँटसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिनेछ ।
- लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शुल्कमा पुनरावलोकन गरिनेछ ।
- नेप्से सूचकांकलाई अल इक्युटी इन्डेक्सको रूपमा कायम राखी कारोवारयोग्य शेयरहरू फ्री फ्लट शेयर्सका आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्ग सूचकांक गणना गर्ने व्यवस्था मिलाइनेछ ।
- सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्कासनअघि संगठित संस्थाहरूबाट हुने पुँजी संकलनसम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाइनेछ ।
सोही अवसरमा बोर्डले उपर्युक्त सुधारका अतिरिक्त नेपालको पुँजीबजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विकास गरी राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुऱ्याउने दिशातर्फ अग्रसर हुने गरी बोर्डले तयार गरेको आगामी दशकको नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३ र वर्ष २०८३/८४ को पुँजीबजार नीति एवं सोको कार्यान्वयन कार्ययोजना बोर्डको वेबसाईटमार्फत सार्वजनिक गरिने पनि जनाएको छ ।