काठमाडौं । नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोषचन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरूसँग नेपालमा मेट्रोरेलमा लगानी परिचालनबारे छलफल गरेका छन् ।
नेपाली राजदूतावास यूके र सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूकेले लण्डनमा संयुक्त रूपमा आयोजना गरेको बी–टू–बी मिटिङमा यस विषयमा छलफल भएको हो ।
नेपालका तर्फबाट उक्त बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुँवरले भाग लिएका थिए ।
सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना रहेकाले मेट्रोरेलमा लगानी गर्न अनुरोध गरे । यसका लागि नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घ साथै यूकेका लगानीकर्ताहरूलाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न अनुरोध गर्दै लगानी बोर्डले यसमा पूर्ण रूपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने पनि बताए ।
बैठकमा सीईओ ज्ञवालीले लगानीका प्रावधानबारे प्रस्ट पार्दै नेपालमा अहिले लगानीको राम्रो वातावरण भएको र राम्रो प्रतिफलको सम्भावना रहेको पनि बताए ।
साथै, सोसाइटी अफ नेपालिज इन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रोरेलको पूरा खाका र आफ्नो अनुभव सुनाउँदै लगानीको प्रशस्त सम्भावना भएको बताए ।
त्यसैगरी, बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमीरेले नेपालमा मेट्रोरेलमा लगानी गर्ने ठूलो अवसर भएको बताए । उनले लगानी गरेर यसको प्रतिफल लिन अनुरोध गर्दै नेपालमा व्यावसायिक वातावरण राम्रो भएको बताए ।
FACEBOOK COMMENTS