काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका हुन् ।
साथै उनले सो अवसरमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण तत्काल अघि बढाउन दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा सहभागिता समेत जनाएका छन् ।
नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरूको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको अध्यक्ष ढकालको भनाइ छ । ‘नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ । जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने छ । आवश्यक परेमा हामी सहयोग गर्न तयार छौँ,’ उनले भने ।
धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उनले बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेको स्मरण समेत गराएका छन् ।

‘गत भदौको जेन–जी आन्दोलनका भएको घुसपैठका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका सबैजसोले अहिले ती व्यवसायहरू मर्मत, सम्भार र पुननिर्माण गर्दै सञ्चालनमा समेत ल्याइसकेका छौँ । निजी क्षेत्र कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेका छौँ,’ उनले भने ।

सो अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको पनि बताए । ‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजी क्षेत्र किन सधै उपक्षित भएको छ,’ उनले भने ।

अध्यक्ष ढकालले स्थानीयरूपमा आयोजना गरिने मेला महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै यस्ता मेला महोत्सवहरूलाई महासंघले सदैव प्राथमिकतामा राख्ने गरेको बर्ता । ‘यस्ता मेला महोत्सवहरूले स्थानीय उत्पादन तथा सम्भावनाहरूलाई प्रवर्द्धन गर्न सहयोग पुग्छ । यसले स्थानीयस्तरमा आर्थिक गतिविधिहरू विस्तार गर्न, रोजगारी सृजना गर्न सहयोग पुर्याउने हुनाले हामीले यस्ता मेला महोत्सवहरूलाई विशेष महत्वका साथ अगाडि बढाउने गरेका छौँ,’ अध्यक्ष ढकालले भने ।

यो पनि पढ्नुहोस्–

‘भृकुटीमण्डपमा हामीलाई देऊ, ४९ वर्षपछि सजावटसहित चिटिक्क पारेर फिर्ता दिन्छौँ’
FACEBOOK COMMENTS