जनकपुरधाम । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२-८३ को बजेटमा रासायनिक मल खरिद गर्न तथा बाँझो जमिनको उपयोग र उखु किसानको समस्या समाधानका लागि २८ अर्ब वजेट विनियोजन गरे ।
अहिले वैदेशिक रोजगारी तथा कृषिमा न्यून उत्पादन र लगानी बढेका कारण किसान पलायन हुने अवस्था रहेको अवस्थामा यसबाट किसानलाई केही राहत पुगेको छ । अर्थमन्त्री पौडेलद्वारा आज सङ्घीय संसद्मा प्रस्तुत बजेटको स्वागत गरिएको छ ।
धनुषाको ढल्केवरका रामपुकार महतोले मलको समस्या समाधानका लागि बजेट विनियोजन भएकामा खुसी व्यक्त गरे । बाँझो जमिनको उपयोग गर्ने सम्बन्धमा भएको घोषणाबाट किसानलाई राहत मिलेको उनको भनाइ छ ।
जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले बजेट समग्रमा राम्रो भएको र अब यसको कार्यावन्यनमा जानुपर्नेमा जोड दिए । तराईमा हुलाकी सडक निर्माण, काठमाडौँ–तराइ मधेस द्रूतमार्गको निमार्ण तथा तराई मधेसको जिल्ला सदरमुकामदेखि सीमावर्ती नाकासम्मको सडक निर्माणको घोषणा सराहनीय भएको उनले बताए ।
साथै तराईको विपद् व्यवस्थापन, कृषि क्षेत्रको विकास, कृषिमा उद्यम तथा रोजगारी उद्योगको विकास तथा संरक्षणका साथै पर्यटन विकास र आयात-निर्यातलाई व्यवस्थित बनाउने कार्य महत्वपूर्ण रहेको प्रा डा योगेन्द्र यादवले बताए । विगतमा बजेटको आकार ठूलो हुने तर कार्यावन्यन नहुने जस्तो समस्या हटाउनुपर्ने उहाँको भनाइ छ ।
FACEBOOK COMMENTS