धनगढी उपमहानगरले ल्यायो दुई अर्ब ६४ करोडको बजेट
कर्पोरट खबर
9:33 pm, आइतबार, असार ७, २०८३
- धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
- बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिइएको छ।
काठमाडौं । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ६४ करोड ६४ लाख बजेट ल्याएको छ । आज आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला कुमारी रानाले बजेट सार्वजनिक गरिन् ।
उनका अनुसार आगामी आवका लागि चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरेको छ । बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट ५५ करोड १० लाख, राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ एक अर्ब छ करोड ७९ लाख प्राप्त हुने जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड २२ लाख तथा चालु आर्थिक वर्षको बचतबाट ४२ करोड ३० लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ । चालु आवको दुई अर्ब ५६ करोड चार लाख बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७७ करोड ४९ लाख ५१ हजार प्राप्त भएकामा रु एक अर्ब १९ करोड ९४ लाख खर्च भएको उपप्रमुख रानाले जानकारी दिइन् ।