काठमाडौं । त्रि. वि.क्रिकेट मैदानमा जारी प्रथम पीएल सिंह मेमोरियल टी–२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न चौथो खेलमा काठमाडौं महानगरपालिका र पाँचौ खेलमा ललितपुर महानगरपालिका विजयी भएका छन् ।
काठमाडौं महानगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई र ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई पराजित गरेका हुन् ।
आजको पहिलो खेलमा काठमाडौं महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता गरेको छ ।
खेलमा वीरगञ्ज महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । वर्षाका कारण १५ ओभरमा छोट्याइएको उक्त खेलमा वीरगञ्जले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो । वीरगञ्जका लागि अर्निको प्रसाद यादवले २६ बलमा सर्वाधिक २९ रन जोड्नुभयो । रूपेश कुमार सिंहले २० बलमा अविजित २६ रन तथा अनिल कुमार साहले २२ रनको योगदान दिए ।
बलिङतर्फ काठमाडौंका नितेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । ११२ रनको लक्ष्य पछ्याएको काठमाडौँ महानगरपालिकाले १२ ओभरमै मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । काठमाडौँका लागि रिञ्जिन लामाले २४ बलमा ४४ रनको आक्रामक इनिङ खेले । त्यस्तै, सोनु देवकोटाले १८ बलमा ३४ रन र इसान पाण्डेले २१ रन बनाए । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका काठमाडौंका सोनु देवकोटा खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

आजै सम्पन्न दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भरतपुर महानगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल खडा गरेको थियो । भरतपुरका लागि सुर्यान्शु कोइरालाले ३२ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेले । शुभ कंसाकारले २१ रन र गौतम केसीले १८ रन बनाए । ललितपुरका बलर गणेश गौतमले ४ ओभरमा २२ रन दिँदै ३ विकेट तथा बिधान खतिवडाले २ विकेट लिए ।

१७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ललितपुर महानगरपालिकाले ५ बल बाँकी छँदै १९.१ ओभरमा ६ विकेट गुमाएर रोमाञ्चक जित दर्ता ग¥यो । ललितपुरको जितमा मध्य क्रमका ब्याटर विपिन आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा अविजित ८२ रनको म्याच विनिङ इनिङ खेले । उनलाई सक्रिय प्रताप कार्कीले १७ बलमा अविजित ३९ रन बनाएर बलियो साथ दिए । त्यस्तै सचिन लेखकले ३३ रनको योगदान दिए । भरतपुरका बलर शुभ कंसाकारले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । ललितपुरका विपिन आचार्य खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए ।
भोलि विहान ९ बजे पोखरा महानगरपालिकाका विरुद्ध काठमाडौं महानगरपालिका र दिउँसो १ बजे पोखरा महानगरपालिका विरुद्ध विराटनगर महानगरपालिका बिच खेल हुँदैछ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी–२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै पुरस्कार भएको खेल हो । यसका विजेताले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई नगदसहित पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन् ।