काठमाडौं । आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटनपछि मन्त्री ज्वाला, मन्त्रालयका अधिकारी, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म उक्त बस चढेर जाने छन् । द्रुत बस सञ्चालनका लागि सडक विभागले रोडमा रातो रङ लगाएर छुट्टै लेन नै बनाइसकेको छ ।
यो रुटमा २५ वटा बस नियमित सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ । द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजे गरी दुई सिफ्टमा चल्ने छन् । यी बस गुड्ने डेडिकेटेड लेनमा एम्बुलेन्स, शववाहन, दमकल, कर्मचारी बोक्ने बस बाहेक अन्य बस चल्न पाउने छैनन् । बस ट्राफिकको रातो बत्तीमा पनि रोकिँने बताइएको छ ।
द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहने छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ ।
FACEBOOK COMMENTS