काठमाडौं । व्यवसायी शंकरलाल अग्रवालविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिट दरपीठ गर्ने निर्णयलाई सदर गर्ने आदेश दिएको हो ।
अग्रवाललाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा उनको परिवार बन्दीप्रत्यक्षीकरणको रिट लिएर गएको थियो । तर सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपछि अग्रवालको तर्फबाट मंगलबार इजलासमा निवेदन दिइएको थियो।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलले रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको आदेश सदर गरेको हो ।
यसअघि विशेष अदालतले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको थियो । सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएका अग्रवाललाई थुनामा पठाउने आदेश दिएको थियो । विशेष अदालतले थुनामा पठाउने आदेश दिएपछि अग्रवालले बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए तर उनको रिट नै दर्ता हुन नसकेको हो ।
