अटोमोबाइल कम्पनीहरूले चारपाङ्ग्रे र दुईपांग्रेमा १२ लाख रुपैयाँसम्म नगद छुट, नि:शुल्क बीमा, सवारी कर र एक्सचेन्ज बोनससहित विशेष चाडपर्व अफर घोषणा गरेका छन्।
काठमाडौं । उसाे त दशैँ–तिहारको मौसम आफैँमा नयाँ उत्साह, नयाँ आशा र नयाँ सुरुवातको प्रतीक हो ।
त्यसैले हरेक वर्ष यो समयमा अटोमोबाइल शोरुमहरू पनि चाडपर्व लक्षित विभिन्न अफरहरू ल्याएर ग्राहकको दशैँमा थप उत्साह भर्ने काम गर्छन् ।
तर, यस वर्षको कथा अलि फरक छ। गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले जनधनमा ठूलो क्षति पुर्याउनुका साथै चीनतर्फको मुख्य व्यापारिक नाका बन्द हुँदा नाइमा र नाडा अटो शोमा ग्राहकहरूले निकै उत्साहका साथ बुकिङ गरेका कयौँ सपनाका गाडीहरू समयमै आइपुग्छन् वा पुग्दैनन् भन्ने अनिश्चितता अझै कायम छ ।
यद्यपी अघिल्लो वर्षको जस्तो बजारमा उत्साह नभए पनि बाढीको यो चुनौती र प्रतिकूल अवस्थाका बाबजुद चाडपर्वको खुसी कम हुन नदिन अटोमोबाइल कम्पनीहरूले आफ्ना ग्राहकका लागि विशेष उपहारको घोषणा गरेका छन् ।

विभिन्न ब्रान्डका गाडी किन्दा कम्पनीहरूले नगद छुट, नि:शुल्क सवारी बीमा र आकर्षक एक्सचेन्ज बोनस जस्ता अफरहरूको व्यवस्था गरेका छन् ।

यदि तपाईं पनि यस चाडपर्वमा नयाँ गाडी घर भित्र्याउने सोचमा हुनुहुन्छ भने, अटोमोबाइल कम्पनीहरूले दिएको १२ लाख रुपैयाँसम्मको भारी नगद छुट पाउनुहुनेछ ।

कुन ब्रान्डमा कस्तो अफर
हरेक वर्ष झैँ यस वर्ष पनि विभिन्न गाडीका ब्रान्डहरूले दशैँ–तिहार लक्षित बम्पर अफरको व्यवस्था गरेका छन् । एक्सपेङ जी६, जीएसी आयोन, टाटा, हुन्डाई, एमजी, होन्डा, ओमोडा, जेइकाे जस्ता चारपाङ्ग्रे सवारीले विशेष अफर ल्याएका छन् ।
एक्सपेङ जी६

सीजी मोटर्स आधिकारिक वितरक रहेको एक्सपेङ जी६ मा १२ लाख रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।
यो गाडी किन्दा ग्राहकले नगद छुटसँगै ६.६ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको नि:शुल्क बीमा र एक वर्षको रोड ट्याक्स पाउनेछन् । नेपालमा एक्सपेङ जी६ को मूल्य ९० लाख रहेको छ । यदि तपाईंले फेस्टिभल अफरमा किन्नुभयो भने मात्र ७८ लाखमै पाउनुहुनेछ ।
जीएसी आयोन

जीएसी आयोनले ‘दशैँको बहार, आयोनको उपहार’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत दशैँमा जीएसी आयोन किन्दा ९ लाख रुपैयाँसम्म छुट पाइनेछ ।
त्यति मात्र होइन कम्पनीले एक्सचेन्जमा आकर्षक बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स र ६.६ किलोवाटको होम चार्जर नि:शुल्क दिनेछ । त्यसैले यदि तपाईं जीएसी आयोनको गाडी किन्ने सोचमा हुनुहुन्छ भने तपाईंको लागि यो फेस्टिभल अफर उत्तम हुन सक्छ ।
टाटा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दसैँ–तिहारलाई लक्षित गर्दै ‘शानदार दसैँ–तिहार’ अफर ल्याएको छ ।
यस अफरअन्तर्गत नयाँ टियागो ईभी वा नेक्सन ईभी रिलोडेड खरिदमा ग्राहकले बाली ट्रिप वा आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, उत्कृष्ट एक्सचेन्ज भ्यालु, नि:शुल्क एसेसरिज र होम चार्जिङ इन्स्टलेसन जस्ता सुविधाहरू पनि उपलब्ध छन् । यो योजना देशभरका सबै टाटा शोरुमहरूमा दसैँ–तिहारभर लागू हुने जनाइएको छ ।
एमजी

चाडपर्वको अवसरमा विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ अफर ल्याएको छ ।
एमजीका ईभी मोडलहरू खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको छुट पाउनेछन् । साथै नयाँ गाडी किन्दा लाग्ने थप आर्थिक भार कम गर्न कम्पनीले अफरभित्रै नि:शुल्क अटो प्लस इन्स्योरेन्स र एक वर्षको सवारी कर पूर्ण रूपमा छुट दिने व्यवस्था गरेको छ ।
यसका साथै, आकर्षक एक्सचेन्ज बोनस र खरिद प्रक्रियालाई सहज बनाउन सरल किस्ताबन्दीको सुविधा समेत कम्पनीले उपलब्ध गराएको छ ।
होन्डा

होन्डाले यस वर्ष चाडपर्व लक्षित ‘फेस्टिभ अफर होन्डाको सफर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत नयाँ कार खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक क्यास डिस्काउन्टको व्यवस्था रहेको छ ।
१ वर्ष सडक कर, १ वर्षको नि:शुल्क बीमा पनि उपलब्ध गराइनेछ । सेप्टेम्बर २५ देखि नोभेम्बर १६, २०२६ सम्म लागू हुने यो अफरमा कम्पनीले होन्डा सीआर, एलिभेट, सिटी र सिटी हाइब्रिड लगायत सबै मोडलमा उपलब्ध हुने जनाएको छ ।
यसका साथै अन द स्पट एक्सचेन्ज सुविधा र आकर्षक एक्सचेन्ज बोनससमेत उपलब्ध गराइएको छ ।
ओमोडा/ जेइको

एसपीजी अटोमोबाइल्सले ओमोडा र जेइकोका पारखीहरूका लागि आकर्षक ’दसैँ अफर’ ल्याएको छ । कम्पनीले ओमोडा र जेइकाका गाडी किन्ने ग्राहकका लागि ३ लाख रुपैयाँसम्मको नगद छुटसहित विशेष सुविधाहरूको प्याकेज ल्याएको छ ।
कम्पनीका अनुसार ओमोडा ई५ का दुवै भेरियन्ट खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । त्यसैगरी, जेइको जे५ मा आकर्षक ३ लाख रुपैयाँ र जेसिक्स टी मा २ लाख रुपैयाँसम्मको बम्पर नगद छुट उपलब्ध रहेको छ ।
नगद छुट मात्र नभई कम्पनीले यी तीनवटै मोडलमा एक वर्षको सवारी कर, एक वर्षको पूर्ण बीमा र घरमै गाडी चार्ज गर्न सहज होस् भनेर ७ किलोवाटको वाल चार्जर नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
दुई पांग्रेमा पनि भारी छुट
त्यस्तै दुई पांग्रे सवारीले पनि दशैँ–तिहार लक्षित बम्पर अफरको घोषणा गरेका छन् । डेल्टा अटोकर्पले भेस्पा र अप्रिलियाका स्कुटरमा ‘दसैँको दक्षिणा’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत १ लाखसम्मको नगद छुट र पुरानो दुईपांग्रे साट्दा २५ हजारसम्मको एक्सचेन्ज बेनिफिट पनि उपलब्ध गराइएको छ ।

सुजुकीको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले सुजुकीको बाइक वा स्कुटर किन्दा १ लाखसम्म नगद छुट वा एक्सचेन्ज बोनसको व्यवस्था गरेको छ ।
एमएडब्लू राइड्सले अनलाइन/घरबाटै सहभागी भई १ लाखसम्म जित्न सकिने र सवारी खरिद प्रमाणित गर्दा १० लाखसम्म जित्ने अवसर प्रदान गरेको छ । यामाहा आर१५ मोटरसाइकल जित्ने अवसरसमेत कम्पनीले ल्याएको छ ।
बजाज चेतकले १ लाखसम्म क्यासब्याकको स्कीम ल्याएको छ ।

सीजी मोटर्स हिरोको दुई पांग्रे सवारी किन्ने ग्राहकका लागि डिजिटल स्क्र्याचमार्फत १० लाखसम्मको इन्स्ट्यान्ट नगद पुरस्कार र हरेक हप्ता एक जना ग्राहकलाई शत प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।
होन्डाले स्क्र्याच कुपनमार्फत १ लाखसम्म नगद जित्ने अवसर र १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपनको व्यवस्था गरेको छ ।
टीभीएसले १० लाखसम्म नगद छुट वा खरिद मूल्यको शत प्रतिशतसम्म क्यासब्याकको चाडपर्व लक्षित अफर ल्याएको छ ।