काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटेर विभिन्न सुझाव दिएको हो ।
भेटघाट तथा छलफलको क्रममा नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
उक्त छलफल सरकारले हालै व्यावसायिक महत्त्वका सवारीसाधनको दर्ता रोक्का, एलसी र बाटोमा दर्ता फुकुवा, हेवी इक्यूपमेण्ट्स् लगायत मेसिनरीमा समेत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थालगायत समस्यामा केन्द्रित थियो ।
यसमा सरकारले पुनर्विचार गर्नुपर्ने, भन्सार विभाग र यातायात व्यवस्था विभागबीच डिजिटल एकीकरण गरी आयातित सवारीसाधनको विवरण स्वचालित रूपमा आदान–प्रदान गर्ने व्यवस्था लागु गर्नुपर्ने विषयमा केन्द्रित रहेको नाडाले जनाएको छ ।

भन्सार र यातायात प्रणाली एकीकृत भएपछि डिलरको नाममा सवारी दर्ता गर्नुपर्ने बाध्यता हटाउने तथा सरकारी पोर्टलमार्फत जारी हुने अस्थायी स्व–घोषणा नम्बर प्रयोग गरी सवारीसाधन सञ्चालन तथा स्थानान्तरण गर्न सकिने व्यवस्था, डेटा साझेदारी प्रणाली तथा डिजिटल प्रमाणीकरण प्रक्रियासम्बन्धी स्पष्ट कार्यविधि तयार गरिनुपर्नेलगायतमा छलफल भएको थियो । मन्त्री लम्सालले जायज सुझावका सन्दर्भमा सरकारले ऐन नै संशोधन गरी सहजीकरण गरी दिने आश्वासन दिए ।
