काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको रात्रिकालीन सार्वजनिक यातायात विस्तारका लागि हाल सञ्चालनमा रहेका ७ बसलाई बढाएर २८ पुर्याउने प्रस्ताव गरेको छ । रात्रिकालीन यातायातको प्रभाव अध्ययन गर्न गठित कार्यदलले ६ वटा नयाँ रुट थप्न सिफारिस गरेको हो ।
हाल नागढुङ्गा–विमानस्थल र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा सेवा सञ्चालन भइरहेको छ। प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायु सेवासम्मका रुट रहेका छन्। यी रुटले प्रमुख अस्पताल, व्यापारिक केन्द्र र उपत्यकाका मुख्य नाकालाई जोड्नेछन् ।
वैशाखदेखि असारसम्म ६ हजार ९५२ यात्रुले रात्रिकालीन सेवा लिएका थिए । एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्दा ३ हजार १३४ रुपैयाँ आम्दानी गरेकोमा सञ्चालन खर्च ४ हजार ८१४ रुपैयाँ रहेको पाइएको छ । यसअनुसार प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसार राति ८ देखि ९ बजेसम्म सबैभन्दा बढी यात्रुको चाप रहने गरेको छ । छोटो दूरीका यात्रु ४७ प्रतिशत, मध्यम दूरीका ३२ प्रतिशत र लामो दूरीका २१ प्रतिशत रहेका छन् । सेवा विस्तार गर्दा महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षाका लागि बसमा निगरानी क्यामेरा, स्थान पहिचान प्रणाली र व्यवस्थित बस बिसौनी राख्न सिफारिस गरिएको छ ।

काठमाडौँसहित ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गर्न सुझाव दिइएको छ । महानगरपालिकाले उपत्यकाका स्थानीय तहलाई समेटेर दिगो रात्रिकालीन यातायात सञ्जाल विकास गर्ने तयारी गरेको जनाएको छ ।