काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आउँदो माघ २५ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले उक्त प्रदर्शनी गर्न लागिएको हो ।
प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र टीओए सफ्टवेयर कर्षको सहयोग रहेको छ ।
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२३ मा इन्फोटेकको २८ औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो। नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने क्यान इन्फोटेक मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ। यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ।
विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गर्दै आएको छ। यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिने क्यानले जनाएको छ ।
त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक गरिने जनाएको छ। यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिने बताइएको छ ।
FACEBOOK COMMENTS