काठमाडौँ । चौधरी ग्रुपले विद्युतबाट चल्ने सवारी साधन बजारमा ल्याएको छ। चिनियाँ कम्पनीले उत्पादन गरेको निटा भि सीजी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा ल्याएको हो।
सवारीसाधन नेपाली बजारमा ल्याएको जानकारी दिदै सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘नेपालको व्यापार घाटाको मुख्य कारक रहेको पेट्रोलियम पदार्थको खपत सरकारले सन् २०५० सम्ममा आधामा झार्ने योजना बनाएको छ । सरकारको यहीं योजनालाई सघाउन हामीले निजी र व्यवसायिक रुपमा प्रयोग हुने विद्युतीय सवारीसाधनको विस्तारमा लागेका हौँ ।’
अधिकांश सवारी उत्पादकले आईसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि भएकाले यो प्रभावकारी रहेको सीजीको दाबी छ ।
सीजी मोटर्सले सुरुमा नेपाल ल्याएको निटा भीले एक पटकको फुल चार्जमा ३८० किलोमिटरभन्दा धेरै रेञ्ज दिने दावी गरिएको छ । निटा भी कारमा सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ । फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली जडित छ ।


नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने सीजी मोटर्सले जनाएको छ । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाा प्रविधि र नवीतम सोचसहितका सवारी ल्याइएको बताए ।

‘सीजी मोटरले विद्युतीय सेगमेन्टमा निजी सवारी मात्र नभई सार्वजनिक तथा कमर्सियल सवारी पनि ल्याउँदै छ,’ सीईओ अग्रवालले भने, ‘११ देखि १४ सिट क्षमताका भ्यान तथा माइक्रोबसलाई विद्युतीयले विस्थापन गर्ने गरी हामीले काम गर्दैछौं ।’ डिजेलरपेट्रोल सवारीले वातावरण प्रदुषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारीमात्र आयात गर्ने योजना बनाएको उनको भनाइ छ ।

