काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बृहत् ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवद्र्धनका लागि दुईवर्षे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा चेम्बरको भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो र बृहतप्रेन्योर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डेडेन लामा राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार दुवै संस्थाले देशभर उद्यमशीलता प्रवद्र्धन, स्टार्टअप तथा नवउद्यमको विकास, व्यवसायिक सञ्जाल विस्तार, मेन्टोरसिप, क्षमता अभिवृद्धि तथा लगानीका अवसर सिर्जना गर्न संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन् ।
नेपाल चेम्बर अफ कमर्सले देशका पाँच स्थानमा उद्यमी तथा व्यवसायीलाई लक्षित जनचेतना र पहुँच विस्तार कार्यक्रम सञ्चालन गर्नेछ । नवौँ नेपाल ल्यान्ड, हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोका अवसरमा विशेष उद्यमशीलता कार्यक्रम पनि आयोजना गरिनेछ ।

बृहतप्रेन्योर्सले सहभागी उद्यमीहरूका लागि अभिमुखीकरण, व्यवसाय विकास तालिम, बिजनेस क्लिनिक, इन्क्युबेसन, मेन्टोरसिप, नेटवर्किङ तथा भेन्चर सपोर्ट कार्यक्रम सञ्चालन गर्नेछ । साथै, सदस्यता, साझेदारी, को–वर्किङ सुविधा तथा व्यवसाय विस्तारका अवसर उपलब्ध गराइने जनाइएको छ ।
सम्झौताअनुसार दुई वर्षको अवधिमा कम्तीमा ६ वटा उद्यमशीलता तथा नेटवर्किङ कार्यक्रम आयोजना गरी तीन सयभन्दा बढी उद्यमी, स्टार्टअप तथा व्यवसायीलाई सहभागी गराउने लक्ष्य राखिएको छ । सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको युवा समिति समेतको सहकार्य रहने उल्लेख छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले यस सहकार्यले उद्यमशीलता विकास, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले उद्यमी, नवप्रवर्तक, स्टार्टअप र लगानीकर्तालाई एउटै साझा मञ्चमा जोड्ने बृहतप्रेन्योर्सको पहल समयानुकूल रहेको उल्लेख गर्दै निजी क्षेत्रबीचको सहकार्यबाट रोजगारी सिर्जना, नवप्रवर्तन र आर्थिक गतिविधि थप सशक्त बन्ने बताए ।
कार्यक्रममा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रुपका कार्यकारी अध्यक्ष डा. ओम राजभण्डारीले नेपालमा उद्यमशीलताको नयाँ संस्कृतिको विकासका लागि ‘आइडिया मात्र होइन, कार्यान्वयन’मा जोड दिनुपर्ने बताए ।
राजभण्डारीले बृहतप्रेन्योर्सलाई उद्यमी, विशेषज्ञ, व्यवसाय र लगानीकर्तालाई जोड्ने भेन्चर–बिल्डिङ इकोसिस्टमका रूपमा विकास गरिएको उल्लेख गर्दै सहकार्य, संरचना, मार्गदर्शन र साझा स्रोतमार्फत दिगो तथा विस्तारयोग्य व्यवसाय निर्माणमा संस्थाले योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका युवा समिति सभापति दिपेशरत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो ।