काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल अस्पतालबीच स्वास्थ्य सेवा सहुलियतसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालका विभिन्न सेवामा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन्।
सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीले काठमाडौंको चाबहिल, नैकाप, वनस्थली, सातदोबाटो तथा महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा बिरामी दर्ता तथा प्रारम्भिक जाँच शुल्कमा शतप्रतिशत छुट पाउनेछन्।
यसका साथै अस्पतालले उपलब्ध गराउने विभिन्न दन्त उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन्।

दुवै संस्थाले यस सहकार्यले गुणस्तरीय दन्त स्वास्थ्य सेवा सर्वसुलभ बनाउन तथा बैंकका ग्राहक र कर्मचारीलाई थप सुविधा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।