काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बुधबार बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएपछि प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० कोषबाट उक्त रकम प्रदान गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले बाढीपीडितका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग गरेकोमा नेपाल बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे ।
सदस्य लम्सालले नेपाल बैंकले दैवी तथा प्राकृतिक विपद्, महाभूकम्प तथा महामारीको रोकथाम र नियन्त्रणलगायत विभिन्न राष्ट्रिय विपद्का समयमा आर्थिक सहयोग गर्दै आएको बताए । सोही सहयोगको निरन्तरतास्वरूप रसुवाको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गरिएको र आगामी दिनमा पनि बैंकको तर्फबाट यस्ता सहयोग जारी रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेको छ ।
कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो ।