काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष तथा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई बधाई तथा सम्मान गरेको छ।
महासंघले खुसिबुस्थित सचिवालयमा विशेष कार्यक्रम आयोजना गरी कर्णलाई सम्मान गरेको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले उनको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्।
सन् २००८ देखि २०१२ सम्म क्यान महासंघको नेतृत्व सम्हालेका कर्णले यसै साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
कार्यक्रममा बोल्दै क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधि क्षेत्रका अनुभवी विज्ञलाई इजरायलजस्तो नवप्रवर्तन र प्रविधिको केन्द्रमा राजदूतका रूपमा पठाइनु नेपालको आर्थिक तथा प्रविधिमैत्री कूटनीतिका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।
त्यस्तै, महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले कर्णको नियुक्तिले नेपाली आईसीटी क्षेत्र र अन्तर्राष्ट्रिय प्रविधि बजारबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने बताए। उनले नेपालको दक्ष प्रविधि जनशक्ति र इजरायलको विकसित प्रविधि इकोसिस्टमबीच सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गरे।

सम्मान ग्रहणपछि राजदूत कर्णले महासंघप्रति आभार व्यक्त गर्दै प्रविधि कूटनीतिमार्फत नेपाल र इजरायलबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा मुख्यत: दुई क्षेत्रमा प्राथमिकता दिने बताए।

पहिलो, नलेज आउटसोर्सिङमार्फत सफ्टवेयर इन्जिनियरिङ, साइबर सुरक्षा तथा सूचना प्रविधि सेवाका लागि इजरायली प्रविधि कम्पनीहरूको प्रमुख गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने उनको योजना छ।

दोस्रो, दुवै देशका आईटी उद्योगबीच संस्थागत साझेदारी, प्रविधि हस्तान्तरण तथा स्टार्टअप इकोसिस्टमको आदानप्रदानलाई प्रवद्र्धन गर्ने उनले बताए।

महासंघको सचिवालयमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष डा. विमल कुमार शर्मा, पूर्वअध्यक्षहरू विजय कृष्ण श्रेष्ठ, विप्लव मान सिंह, ई. विनोद ढकाल, हेमन्त कुमार चौरसिया, निवर्तमान अध्यक्ष रञ्जित कुमार पोद्दार, कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी तथा सचिव दीपेन्द्र पौडेललगायतको उपस्थिति थियो।
अनुभवी आईसीटी विज्ञ कर्ण इजरायलका लागि नेपाली राजदूत नियुक्त भएसँगै नेपाली सूचना प्रविधि कम्पनीहरूले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), अन्तरदेशीय व्यावसायिक साझेदारी (बीटुबी) तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका नयाँ अवसर प्राप्त गर्ने अपेक्षा गरेका छन्।