निर्मलराज पौडेलको शब्द तथा स्वर र मनिषराज पौडेलको निर्देशनमा तयार भएको नयाँ नेपाली गीत ‘हिस्सिएकी काली’ सार्वजनिक भएको छ।
वेलकम एभी प्रोडक्सनले निर्माण गरेको उक्त गीतको भिडियोमा पछिल्लो समय विकसित कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको छ। नेपाली गीतसंगीत क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यसहित तयार पारिएको गीतले प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटेको छ।
गीतको भिडियोमा सुबु शर्मा, रोशन अर्याल र अनिश शर्माले अभिनय गरेका छन्। विशेष अतिथि कलाकारका रूपमा सुनील भट्टराई र खेमराज पन्त प्रस्तुत भएका छन्।
गीतमा संगीत निर्देशन मोहित मुनालले गरेक छन् भने भिडियोको छायांकन निर्देशक कृष्ण बी. थापा हुन्। भिडियोको सम्पादन तथा रंग संयोजन मनिषराज पौडेलले गरेका छन्।
परम्परागत भिडियो निर्माण प्रक्रियाभन्दा फरक ढंगले आधुनिक प्रविधिको सहायतामा दृश्यहरू तयार पारिएको यस गीतले नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको खोजी गरेको गायक पौडेलले जानकारी दिए।
गायक पौडेलका अनुसार एआई प्रविधिको प्रयोगले कम समयमा आकर्षक दृश्य सामग्री तयार पार्न तथा सिर्जनात्मक अवधारणालाई दृश्यमा रूपान्तरण गर्न सहज बनाएको छ।

नेपाली संगीत क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला ‘हिस्सिएकी काली’ले गीत तथा भिडियो निर्माणमा नयाँ प्रयोगको सम्भावनालाई उजागर गरेको छ।
