काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कुमारी बैंक लिमिटेडले ई–ट्याग बिक्री तथा वितरण सेवा सुरु गरेको छ । बैंकले आफ्ना विभिन्न शाखामार्फत ई–ट्याग उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
ई–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो । यस प्रणालीमार्फत सवारीसाधन धनीले टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन् ।
सवारीसाधनमा ई–ट्यागको स्टिकर टाँसेपछि त्यसमा आबद्ध खाताबाट स्वचालित रूपमा टोल शुल्क कट्टा हुनेछ । यसले टोल बुथमा हुने भीडभाड र लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समयसमेत बचत गर्ने बैंकले जनाएको छ ।
ई–ट्याग प्राप्त गर्न ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन् ।
त्यस्तै, बैंकको वेबसाइटमार्फत ई–ट्यागसम्बन्धी थप जानकारी लिनुका साथै अनलाइनबाटै दर्ता प्रक्रिया पनि पूरा गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।

डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको बैंकले सवारीधनीलाई टोलमा नरोकी समय बचत गर्दै सहज यात्रा गर्न ई–ट्याग जडान गर्न आग्रह गरेको छ ।
