काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरूप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।
अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आयोगको सुझावअनुरूप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने धारणा राखे ।
यस्तै, उनले बजेट जनताकेन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोड दिए ।
सरकारले राजस्व सङ्कलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको उनको भनाइ छ ।
‘आयातमा आधारित हाम्रो अर्थतन्त्रमा भन्सारका दरहरू उच्च रहेका छन् । यसले एकातर्फ नेपाल भारतस्थित खुला सिमानाको कारणले चोरीपैठारीलाई प्रोत्साहन गरेको छ । करका दरभन्दा दायरा बढाउनुपर्छ । राज्यले आयात प्रतिस्थापनका लागि उत्पादनलाई जोड दिनुपर्दछ, खनिजजन्य वस्तुको निर्यात खुलाउनुपर्छ,’ अध्यक्ष ढकालले भने ।
यस्तै, विगत दुई वर्षदेखि रेमिट्यान्सको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायतमा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणहरूले समेत समस्या भोग्नुपरेकाले यसलाई पुनः सुचारु गर्नेतर्फ पहल गर्न सरकारलाई सुझाव दिए ।
FACEBOOK COMMENTS