काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि अझै निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी हुन नसकेको बताएका छन् ।
महासंघले आज बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’बारे सर्वपक्षीय राष्ट्रिय सम्वादमा उनले निजी क्षेत्र आफ्नो दायित्वप्रति प्रतिबद्ध हुँदा पनि समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषयमा भने अझै पनि ओझेलमा परिरहेको भान भएको बताएका हुन् ।
‘निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का बढ्नु स्वाभाविक नै हो । उद्यमी र उद्यमशीलताको विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन र आउँदैन ।’
उनले लगानी, रोजगारी र आयस्तर एकआपसमा परिपूरक भएको भन्दै सबैभन्दा पहिला लगानी प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताएका छन् । ‘लगानी नभई रोजगारी हुँदैन र रोजगारी नभई आयस्तरमा सुधार हुँदैन । आयस्तर बढ्न सकेन भने मानव विकासमा अपेक्षाकृत सुधार पनि हुन सक्दैन,’ अध्यक्ष ढकालले भने, ‘शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजस्व बढ्नु जरुरी छ । राजस्व बढ्न निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक छ ।’
अध्यक्ष ढकालले पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँको घाटामा रहेको चर्चा गर्दै बैंकहरूले करिब ११ खर्बभन्दा बढीको लिक्विडिटी लगानी गर्न नसकिरहेको र निजी क्षेत्रले रकम लिएर उद्यम गर्न चाहिराखेको अवस्थाबीच तारतम्य नमिलिरहेको बताए ।

FACEBOOK COMMENTS