काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् ।
११२औँ अन्तर्राष्टिय श्रम सम्मेलनलाई हिजो बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका हुन् ।
यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा रोजगारदाताको प्रतिनिधत्व गर्दै अध्यक्ष ढकालले नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको बताए ।
सामाजिक सुरक्षा लैंगिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागि रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे । भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
यसैगरी भारत र चीन जस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि बताए ।
सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु पनि नेपालको लाभका क्षेत्र रहेको बताउँदै उनले लगानी सहजीकरणका लागि सरकारले द्धिपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागिलाई जानकारी गराए ।
सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्टिय श्रम संगठन (आईएलओ) र रोजगारदाताहरुको अन्तर्राष्टिय संगठन (आईओई) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गरेका थिए ।
FACEBOOK COMMENTS