काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीन वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्दै महासंघको नेतृत्व नयाँ टोलीलाई हस्तान्तरण गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठ तथा उनको टोलीलाई शुभकामना दिँदै ढकालले महासंघ आफ्नो लागि केवल संस्था नभई परिवार भएको बताएका छन् ।
बिहीबार साँझ फेसबुकमा एक विदाइ सन्देश जारी गर्दै उनले नेतृत्व सम्हाल्दाको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले कठिन आर्थिक परिस्थितिका बीच समाधान खोज्दै साझा आवाजलाई राज्यसम्म पुर्याउन निरन्तर प्रयास गरेको बताएका छन् । ‘चुनौतीलाई अवसरमा बदल्दै हामी यहाँसम्म आइपुगेका छौँ,’ उनले भनेका छन् ।
ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको हित, उद्यमशीलता प्रवर्द्धन तथा देशको समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरेका छन् । उनले महासंघभित्र सहकार्य, आत्मीयता र साझा उद्देश्यको भावना बलियो बनेको अनुभव सुनाउँदै नेतृत्व भनेको केवल अगाडि उभिनु मात्र नभई सबैलाई साथमा लिएर अघि बढ्नु पनि भएको बताएका छन् ।


बागलुङबाट काठमाडौं आएर सामान्य व्यवसाय सुरू गरेको व्यक्ति महासंघको अध्यक्षसम्म पुग्नु आफ्नो लागि असम्भवजस्तै सपना रहेको उल्लेख गर्दै उनले व्यवसायप्रतिको निष्ठा र निजी क्षेत्रको विश्वासले त्यो सम्भव भएको बताए ।

उनले आफूले थालेका केही सपना अझै अधुरा रहेको स्वीकार गर्दै नयाँ नेतृत्वले ती योजनालाई सफलतापूर्वक अघि बढाउने विश्वास व्यक्त गरेका छन् । आवश्यक पर्दा आफू सधैँ महासंघ र निजी क्षेत्रको साथमा रहने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

ढकालले नेपालको समृद्धिको मुख्य सारथी निजी क्षेत्र नै भएको उल्लेख गर्दै सकारात्मक सोच, सहकार्य र साझा उद्देश्यका साथ अघि बढ्न देशभरका उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् । साथै नेतृत्वकालमा साथ, सहयोग र प्रेरणा दिने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् ।
यस्तो छ, उनको अभिव्यक्ति–