काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले नेपाल अमेरिकाको दोस्रो ‘कि ट्रेडर पार्टनर’ भएको बताएका छन् ।
युएस एड, नेपाल तयारी पोशाक उद्योग संघ, निर्यात व्यवसायी महासंघ नेपाल र नेपाल–अमेरिका उद्योग वाणिज्य संघको सहकार्यमा उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा आयोजना गरेको ‘युएस–नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट : प्रोस्पेक्टस् एण्ड च्यालेञ्जेज’ विषयक कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफिरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत निर्यात सुविधा दिएको चर्चा गर्दै नेपाल अमेरिकाको दोस्रो ‘कि ट्रेडर पार्टनर’ भएको बताएका हुन् ।
अमेरिकाले सुविधा दिए पनि नेपालबाट सोचेजतिको परिमाणमा वस्तु निर्यात हुन नसकेको भन्दै उनले अब त्यसको फाइदा लिनुपर्नेमा जोड दिए । ‘अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफिरेन्स प्रोग्राम अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तुहरू अमेरिका निर्यात गर्दा शून्य भन्सार महसुल सुविधा प्रदान गरेको छ । उक्त सूचीमा रहेका वस्तुहरू सोचेजति निर्यात गर्न सकिरहेका छैनौँ,’ अध्यक्ष ढकालले भने, ‘सम्भावना भएका तयारी पोशाकलगायतका थप वस्तुहरूलाई एनटीपीपीमा समावेश गर्नका लागि नेपाल सरकारले निजी क्षेत्रको सहकार्यमा उच्चतम पहल गर्नु जरुरी छ ।’
अमेरिकाले सन २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवम् लगानीसम्बन्धी सम्झौता (टिफा) परिषदको बैठक महत्वपूर्ण रहेको उनको धारणा थियो । उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जीएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।
अमेरिकामा नेपाली तयारी पोशाकको माग उच्च रहेको पनि उनले बताए । विभिन्न चुनौतीहरूको बीचबाट पनि नेपालले ती सुविधाहरूको अधिकतम फाइदा लिनुपर्नेमा उनले जोड दिएका छन् । नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध ७७ वर्ष पुगेको र आगामी दिनमा पनि अझै सुमधुर बन्ने विश्वास उनले व्यक्त गरेका छन् ।
यसैगरी, नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिएका छन् ।
यसैगरी, अध्यक्ष ढकालले बंगलादेशमा भएको पछिल्लो विवादकाबीच धेरैजसो लगानीकर्ताहरूले सुरक्षित स्थानका रूपमा नेपाल रोज्नसक्ने भन्दै बंगलादेशी इन्भेष्टरहरू नेपालीले क्यापिटलाइज गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरुप अमेरिकासंग छलफल गरिने वताए भने प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए ।
यस अवसरमा, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।
त्यस्तै, नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनाका साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर पाण्डेले अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिए ।
नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्धिपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर, हालसम्म कुनै उपलब्धि हुन सकेको छैन ।
हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।
चन्द्र ढकालले इमाद फाखौरीलाई भने– नेपालमा आर्थिक सुधारको आधार तयार हुँदैछ
FACEBOOK COMMENTS