काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेतको मिलेमतोमा सार्वजनिक खरिद प्रक्रिया विपरीत फर्जी पत्रिका समावेश गरी राज्यको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आर्थिक वर्ष २०७७/०७८ मा सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत प्राप्त बजेटबाट डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउण्ड वाल निर्माण तथा विद्यालय भवन निर्माणका ३ वटा योजनाको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेमा मिलेमतो गरी गैरकानुनी लाभ उठाउने नियतले वास्तविक सूचना लुकाएर फर्जी प्रति तयार पारिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, तत्कालीन सह–लेखापाल बिनोद कुमार मण्डल, जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृज कुमार यादव, सोही मिडिया ग्रुपका मुख्य कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रा.लि.का प्रतिनिधि सञ्जय कुमार यादवको आपसी मिलेमतोमा यो कार्य भएको हो।
प्रतिवादीहरूले जनकपुर टुडे राष्ट्रिय दैनिकको मिति २०७८ वैशाख २३ गतेको एक प्रति (फाइल कपी) मा मात्र खुला बोलपत्र आह्वानको सूचना पेस गरी सोही झुट्टा विवरणका आधारमा अमृत मिडिया प्रा.लि.मार्फत भुक्तानी माग गराएका थिए। एउटै विज्ञापनमार्फत सूचना दिएको बापत दुई अलग योजनाको विज्ञापन भनी कुल ३ लाख ८० हजार रुपैयाँ जनकपुर टुडे प्रा.लि.लाई भुक्तानी दिइएको अख्तियारको भनाइ छ।

सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी बनाई प्रतिस्पर्धा सीमित गराउने नियतले रकम हिनामिना गरिएको पुष्टि भएपछि अख्तियारले सबै प्रतिवादीहरूसँग ३ लाख ८० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ।

साथै कानुनी व्यक्ति जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि.को हकमा सोही ऐनको दफा २३क बमोजिम सजाय हुन मागदाबी गरिएको छ।