काठमाडौं । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवाकोटको पञ्चकन्या गाउँपालिका–२ की सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालयकी सचिव सरिता राउतसहित ३ जना कर्मचारीहरूविरुद्ध अख्तियारले हिजो शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आरोपितहरूमाथि ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो माग गरिएको छ । आयोगका अनुसार सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
वृद्धभत्ता र विभिन्न शीर्षकबाट संकलन भएको ५३ लाख १ हजार ८५६ रुपैयाँ रकम वडा कार्यालयबाट गायब प्रकरणमा उनीहरूले बदनीयतपूर्ण ढंगमा हानी नोक्सानी गरेको भन्दै अख्तियारले विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको जनाएको छ ।
वडा कार्यालयबाट गत वर्ष चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रुपमा हराएपछि उनीहरूमाथि अख्तियारमा उजुरी परेको थियो ।
दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवम् ढोकाको चाबी निलप्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा निज सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनीयत गरी हानिनोक्सानी गरेको अख्यितारको ठहर छ ।
FACEBOOK COMMENTS