काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै तीन महिना भन्दा बढी समयदेखि आन्दोलनरत नेपाल बार एसोसिएशन अन्ततः आन्दोलन छोडेर आन्तरिक चुनातिर केन्द्रत हुने भएको छ ।
लामो समय गरिएको आन्दोलनले ठोस उपलब्धी हासिल गर्न नसकेपछि सुरक्षित अवतरणका लागि बार आन्तरिक निर्वाचनमा होमिन लागेको हो । बारको हिजो बसेको कार्यसमिति बैठकले आगामी चैतमा चुनाव गर्ने निर्णय गर्दै आन्दोलनलाई क्रमशः विश्राम दिएको हो ।
बार निर्वाचनमा केन्द्रित भएसँगै विगत ३ महिनादेखि प्रधानन्यायाधीश जबराविरुद्ध गर्दै आएको आन्दोलन समेत अन्त्य भएको बार बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । बैठकमा आन्दोलनको समीक्षा गर्दै अधिकांश सदस्यले आन्दोलन बारबाहिरको निर्देशनमा गरिएको भनेर सर्वत्र आलोचना भएको टिप्पणी गरेका थिए । बारको आन्दोलनले गोलाप्रथा प्रणाली लागू गर्नेबाहेक अन्य कुनै ठोस उपलब्धि हासिल नगरेको निष्कर्ष उनीहरूको छ ।
नेपाल बारको आन्दोलन अन्यत्रबाटै निर्देशित र खास–खास व्यक्तिहरूको निहित स्वार्थपूर्तिका लागि गरिएको, आन्दोलनले संविधान र कानुनको अपहेलना गरेको र बारको आन्दोलन व्यवस्था परिवर्तनका लागि नभई व्यक्ति परिवर्तनका लागि मात्रै केन्द्रित रहेको आरोप लगाउँदै वकिलहरूको अर्को समूहले ‘सेतो पट्टी’ बाँधेर समानान्तर आन्दोलन नै चलाएको थिए ।
केही दिनअघि मात्र बारका कोषाध्यक्ष रुद्र पोखरेलले एक कार्यक्रममा बारको आन्दोलन समाप्त भएको भन्दै प्रधानन्यायाधीश राणालाई इजलास फर्किन आग्रह गरेका थिए । सोही कार्यक्रममा पोखरेलले आन्दोलन बारको कार्यालयबाट नभएर कुपण्डोल र थापाथलीबाट सञ्चालित हुने गरेको समेत खुलासा गरेका थिए । बारको आन्दोलन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र पूर्वबार अध्यक्ष शम्भु थापाको निर्देशनमा भएको पोखरेलको संकेत थियो ।
यो पनि पढ्नुहोस्–
इजलास बहिष्कार र हड्ताल गर्ने छूट न्यायाधीशहरूलाई छैन, न्यायप्रभावितलाई क्षतिपूर्ति भराउनुपर्छ
FACEBOOK COMMENTS