काठमाडौं । पीएल सिंह मेमोरियल टी–२० कपको छैटौँ खेलमा पोखरा महानगरपालिकाले र सातौँ म्याचमा विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् । प्रतियोगिता अन्तर्गत सम्पन्न रोमाञ्चक प्रतिष्पर्धाहरूमा पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गरेका हुन् ।
असार ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा चलिरहेको छ । उद्घाटन खेल काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बिच भएको थियो । यस खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो दिनको पहिलो खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले र दोस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भएका थिए । तेस्रो दिनको पहिलो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता ग¥यो । त्यस दिनको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो ।
प्रतियोगिताको छैटौँ खेलमा आज काठमाडौँले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । वर्षा र अन्य प्राविधिक कारणले १० ओभरमा छोट्याइएको उक्त खेलमा पहिले ब्याटिङ गरेको पोखरा महानगरपालिकाले २ विकेट गुमाएर १०७ रनको बलियो योगफल खडा ग¥यो ।
पोखराका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै मात्र २४ बलमा ५० रनको अविजित अर्धशतकीय इनिङ खेले । उनलाई सन्दीप खत्री क्षेत्रीले १५ बलमा ३५ रन बनाउँदै बलियो साथ दिए । काठमाडौँका विशाल फुयाँलले २ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

१०८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं महानगरपालिकाले १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि कृष कार्कीले २५ र उत्तम थापा मगरले अविजित १८ रन जोडे पनि टोलीलाई जित प्राप्त हुन सकेन । पोखराका अपराजित पौडेल, कृष्ण पौडेल र बिपिन खत्रीले समान २–२ विकेट लिँदै काठमाडौँको ब्याटिङ लाइनअप ध्वस्त पारे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखराका अर्जुन कुमाल ‘प्लेयर अफ द म्याच’ चुनिए ।

प्रतियोगिताको सातौँ खेलमा विराटनगर महानगरपालिकाले टस जितेर ललितपुर महानगरपालिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको चुनौतीपूर्ण स्कोर खडा ग¥यो । ललितपुरका लागि रोशन बिकेले २५ बलमा अविजित ४२ रन र आदिल खानले २३ रन बनाउनुभयो । विराटनगरका कृष शर्मा र प्रतिक पोखरेलले समान २–२ विकेट लिए ।

१५२ रनको लक्ष्य पछ्याएको विराटनगर महानगरपालिकाले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै मात्र १६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । विराटनगरको जितमा नायक बनेका सुजन थापलियाले मात्र ३७ बलमा ८१ रनको विष्फोटक इनिङ खेले । त्यस्तै रोबिन मण्डलले ३९ बलमा ४४ रनको योगदान दिए । ललितपुरका तिलक राज भण्डारी र बिबेक राना मगरले १–१ विकेट लिए । १९ बल बाँकी छँदै ८ विकेटको सहज जित निकालेको विराटनगरका सुजन थापलिया खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
भोलि विहान ९ बजे भरतपुर महानगरपालिकाका विरुद्ध पोखरा महानगरपालिका र दिउँसो १ बजे वीरगञ्ज महानगरपालिका विरुद्ध विराटनगर महानगरपालिका बिच खेल हुँदैछ ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर महानगर टी–२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशीपुरस्कार भएको खेल हो । यसका विजेताले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ । यस्तै वेष्ट बलर, वेष्ट वाट्स म्यान, प्लेयर अफ द टुर्नामेन्टलाई जनही ५ हजार रुपियाँसति पुरस्कृत गरिनेछ ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज गरी ६ वटा महानगरपालिकाबाट राष्ट्रिय खेलाडीसहितको टोली प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल सिनियर, नेपाल ए को सिनियर टीमबाट खेलेका, नेपाल अन्डर नाइन्टीन र अन्डर सिक्सटीनबाट खेलेका खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन् ।