काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड एनएफआरएस–१७ (बीमा सम्झौता) कार्यान्वयनका लागि विश्वप्रसिद्ध परामर्शदाता केपीएमजी अस्योरन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी लाई कार्यान्वयन साझेदारका रूपमा नियुक्त गरेको छ।
नेपाल लेखामान बोर्डद्वारा जारी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था मार्फत लागू गरिएको एनएफआरएस–१७ लाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यान्वयन गर्न कम्पनीले यो रणनीतिक पहल गरेको हो।
कम्पनीका अनुसार नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि केपीएमजी इन्डियासँग सम्झौता गरिएको हो। केपीएमजी विश्वका ‘बिग फोर’ व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो, जसले एस्योरेन्स, कन्सल्टिङ, कर तथा जोखिम परामर्श सेवामा विशेषज्ञता प्रदान गर्दै आएको छ।
विशेषगरी आईएफआरएस–१७ तथा एनएफआरएस–१७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक दक्षता महत्वपूर्ण मानिन्छ। दक्षिण एसियाली बजार, विशेषगरी भारतमा यसको सशक्त उपस्थितिले नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास स्थापित गरेको कम्पनीले जनाएको छ।
सम्झौता अवधि साढे तीन वर्ष रहनेछ। यसअन्तर्गत प्रारम्भिक कार्यान्वयन चरण र त्यसपछि तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेशन सपोर्ट सेवा पनि समावेश हुनेछ।
यस साझेदारीमार्फत कम्पनीले अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता प्राप्त गर्नुका साथै ‘ज्ञान हस्तान्तरण’ मार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।

यस पहलले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुसार अझ पारदर्शी, विश्वसनीय र सुदृढ बीमा संस्थाका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
