काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौँको शंखरापुर नगरपालिका–९ इन्द्रायणीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।
कम्पनीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग, कुर्सी तथा विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको हो। शिक्षा क्षेत्रमा पहुँच विस्तार र गुणस्तरीय सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, प्रधानाध्यापक अर्जुन कारञ्जित, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले गुणस्तरीय शिक्षामा पहुँच विस्तार समाजप्रतिको साझा जिम्मेवारी भएको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्यबाट विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुग्ने बताए। उनले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा संस्थाले निरन्तर सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यसलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइने जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठले विद्यालयका आवश्यकता पहिचान गरी गरिएको सहयोगप्रति नेपाल एसबिआई मर्चेन्ट बैंकिङप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। विद्यालयमा हाल कुल २६५ जना विद्यार्थी अध्ययनरत रहेका छन्।
