काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा इला शर्मा नियुक्त भएकी छिन् ।
शर्मालाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । उनलाई गत वैशाख २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरेको थियो ।
बैंकको सञ्चालक नियुक्त शर्मा निर्वाचन आयोगकी पूर्वआयुक्त हुन् ।
शर्माको अनुभव र योग्यता
कानुनमा विशेष अनुभव सँगालेकी शर्माले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम र युनिभर्सिटी अफ हल यूकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छिन् ।
शर्मासँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकासलगायत क्षेत्रमा साढे तीन दशक काम गरेको अनुभव छ । निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत रहिसकेकी छिन् ।
काठमाडौं विश्वविद्यालयलगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी शर्माले उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी छिन् । उनी विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।
उनले फूड फर्स्ट इन्फर्मेशन एक्शन नेटवर्क (एफआईएएन) नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया (एसएडब्लूएम) को कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छिन् ।
यसैगरी उनी आईआईएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेसनल ह्यूमन राइट्स अध्यापन गराउँदै आएकी छिन् ।
उनी यसअघि नबिल बैंकमा स्वतन्त्र सञ्चालक थिइन् । 1715168460451
FACEBOOK COMMENTS