काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो सेवाहरू डिजिटलाइज गर्ने क्रममा क्यास डिपोजिट मेशिन (सीडीएम) पनि प्रयोगमा ल्याएको छ ।
बैंकले ग्राहकहरूलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यले केही वर्ष अघिखेखि यो सेवा प्रयोगमा ल्याएको हो । यसको प्रयोगसँगै ग्राहकहरूले मानवीय सहायताबिनै बैंकमा नगद जम्मा गरी समयको बचत गर्दै आएका छन् ।
सिटिजन्स बैंकले यो सेवा २०७९ सालदेखि सञ्चालनमा ल्याएको हो । यो सेवाको प्रयोगपछि सिटिजन्स बैंकका ग्राहकहरूले नगद जम्मा गर्न बैंकमा लामो पालो कुर्नेदेखि भौचर भर्नेलगायत झन्झटबाट मुक्ति पाएका छन् । कुनै कागज वा दोस्रो व्यक्तिको सहयोग र संलग्नताबिनै बैंकमा रकम जम्मा गर्न सकिने भएपछि बैंकका ग्राहकहरूमा छुट्टै खुसी सञ्चार भइरहेको बैंकका प्रमुख सूचना अधिकारी नारायण राज अधिकारी बताउँछन् ।
उनका अनुसार सो मेशिनमार्फत कोही एउटा व्यक्तिले बैंकमा रहेको आफ्नो वा अन्य कसैको खातामा खाता नम्बरको मात्रै आधारमा नगद जम्मा गर्न सक्ने छन् । बैंकका अनुसार यो मेशिनमार्फत हाललाई एक हजार र पाँच सय रुपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।
बैंकले यो सेवा हालको लागि काठमाडौंको दरबारमार्ग शाखाबाट उपलब्ध गराउँदै आएको छ भने यसलाई उपत्यकाका अन्य ठाउँ र उपत्यकाबाहिर समेत विस्तार गर्न बैंकले गृहकार्य गरिरहेको छ । आधुनिक बैंकिङको प्रमुख अङ्गको रुपमा रहेको डिजिटल बैंकिङलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढङ्गले अगाडि बढाएको र सशक्त ढङ्गले ग्राहकमैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य बनाइएको प्रमुख सूचना अधिकृत अधिकारीको भनाइ छ ।
उनका अनुसार बैंकले सीडीएमबाहेक सेल्फ सर्भिस मेशिन (केआईओएसके), कर्पोरेट–पे, मोबाइल बैंकिङ, युटिलिटी पेइमेन्ट, इन्टरनेट बैंकिङलगायत माध्यमबाट पनि डिजिटल सेवाहरू प्रवाह गर्दै आएको छ ।
के हो ‘सीडीएम’ ?
क्यास डिपोजिट मेशिन (सीडीएम) सिटिजन्स बैंकले प्रदान गरेको स्व–सेवा टर्मिनल हो । जसले ग्राहकहरूलाई बैंकको टेलरमा नगइ सिधै आफ्नो वा अरु कसैको खातामा नगद जम्मा गर्ने पहुँच उपलब्ध गराउँदै आएको छ । यो मेशिन पैसा झिक्दा प्रयोग हुने एटीएमजस्तै हो, तर यसमा पैसा झिक्ने नभइ जम्मा गर्ने प्रणाली जडान गरिएको हुन्छ ।
‘सीडीएम’मार्फत कसरी सेवा लिने ?
– आफ्नो सही मोबाइल नम्बर प्रविष्ट गर्नुपर्छ ।
– दर्ता गरिएको मोबाइल नम्बरमा प्राप्त ‘ओटीपी’ कोड प्रविष्ट गर्नुपर्छ ।
– तपाईंले नगद जम्मा गर्न लागेको व्यक्तिको सही बैंक खाता नम्बर टाइप गर्नुपर्छ ।
– सीडीएम मेशिन स्क्रिनमा देखिएको खाता नम्बर र खातावालाको नाम सही हो होइन यकिन गर्नुपर्छ ।
– सही छ भने मेशिनको सही स्लटमा नगद घुसाउनुपर्छ । यसरी नगद घुसाउँदा ५०० र १००० दरका नोटमात्रै मेशिनले स्वीकार गर्छ ।
– नगद जम्मा गर्ने मेशिनले स्वीकृत गरेको नगद मूल्यको लागि स्क्रिनमा प्रकाशित रकम यकिन गर्नुपर्छ ।
– यदि सबै कुरा सही छ भने रकम जम्मा गर्ने ‘ट्रान्जेक्शन बटन’ थिचेर रकम जम्मा गर्न सक्नुहुन्छ
– रकम जम्मा गरिसकेपछि मेशिनले रसिद उपलब्ध गराउँछ । त्यसलाई सङ्कलन गर्नुपर्छ ।
‘सीडीएम’मार्फत नगद जम्मा गर्दा ध्यान दिनुपर्ने कुराहरू
– मेशिनले एक पटकमा नेपाली रुपैयाँ ९९ हजार ५०० मात्रै स्वीकार गर्छ ।
– प्रयोगकर्ताले आवश्यकता अनुसार एउटै खातामा धेरै पटक रकम जम्मा गर्न सक्ने छन् ।
– मेशिनमा च्यातिएका र धेरै पुराना नोटहरू जम्मा गर्न सकिँदैन ।
– प्रयोगकर्ताले आवश्यक परेमा एउटै कारोबारमा अस्वीकृत नगद लोड गर्न पुनः प्रक्रिया गर्न सक्ने छन् ।
– प्रयोगकर्ताले आफ्नोसहित तेस्रो पक्षको खाताहरूमा नगद जम्मा गर्न सक्नेछन् ।
– सीडीएमले बचत खाताहरू बाहेक अन्य खाताहरू स्वीकार गर्दैन ।
यी समाचारहरू पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS