काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये ११ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो । नौ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर रहेको हो ।
कात्तिक र मंसिर दुवै महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत नै छ। तर, कात्तिकमा औंसत ब्याजदर ५.२ प्रतिशत रहेकोमा मंसिरमा यस्तो औंसत ब्याजदर ५.०४ प्रतिशत छ ।
अहिले सबैभन्दा धेरै ब्याज ग्लाबल आइएमइ बैंकबाट पाइने भएको छ। यो बैंकले ६ प्रतिशत दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ४.७ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो ।
बैंकहरूले रेमिटेन्स खातामा भने व्यक्तिगत मुद्दति खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन् ।केही समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैंकहरूको ब्याजदर घटिरहेको छ ।
हाल बैंकहरूसँग करिब ११ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।
कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.७५ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन्। हाल यसरी राखिएको रकम आठ खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ । अहिले बैंकहरूसँग ७४ खर्ब ९७ अर्ब रूपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५६ खर्ब ४३ अर्ब कर्जा लगानी गरेका छन् ।

FACEBOOK COMMENTS