काठमाडौँ — न्यायालयमा देखिएको विवादको विषयमा नेपाल बार एशोसिएसनले गरेको आन्दोलनलाई काग्रेसले साथ नदिने भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने समय नभएको जानकारी गराएका छन् ।
महतले बैठकमा नेताहरुले विभिन्न विचार राखेर न्यायालय विवादबारे छलफल भएको तर, त्यसबारे कुनै निर्णय नभएको बताए ।
महतका अनुसार ‘न्यायालयको विवादमा सबैको ध्यानाकर्षण भएकै छ । समग्रमा अहिलेको प्रस्ट कुरा भनेको न्यायालयभित्रैबाट निकास आउनुपर्छ भन्ने रहेको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरु चुप लागेर बस्न नहुने बताएका थिए ।
पौडेल समूहले शुक्रबारै न्यायालयमा देखिएको समस्याका विषयमा पार्टीले स्पष्ट धारणा बनाएको छ । यसअघि संस्थापनइतर पक्षका १२ जना केन्द्रीय सदस्यहरुले विज्ञप्ति नै जारी गरेर न्यायालय विवादमा दलहरु चुप लागेर बस्न नहुने भनेका छन् ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने न्यायालयको विवाद त्यहीं भित्रैबाट समाधान हुनुपर्ने बताएका छन् । ‘राज्य सञ्चालनका लागि संविधानले तीन अंगहरु न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका रहने व्यवस्था गरेको छ । यी निकायको आ–आफ्नै अधिकार क्षेत्र छ । त्यो कसैले पनि मिच्न मिल्दैन,’ देउवालाई उदृत गर्दै सहमहामन्त्री महतले ‘न्यायालयमा देखिएको विवाद विषयको समस्या समाधानका लागी न्यायालयभित्रैबाट निकास आउनुपर्छ ।’ भन्ने धारणा व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS