काठमाडौं । २०८० फागुन २० गते कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर डटकम)ले काठमाडौंको सोल्टीमोडस्थित होटेल ह्यात प्लेसमा १६औं संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरेको थियो ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
आफ्नो वार्षिकोत्सवको अवसर पारेर कर्पोरेट मिडियाले विगत १५ वर्षदेखि निजी क्षेत्रलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यले कर्पोरेट बिजनेश अवार्ड कार्यक्रम गर्दै आएको छ । यो वर्ष राष्ट्रपति रामचन्द्र पौडेलबाट अवार्ड वितरण गर्न लामो प्रयत्न गरिएको थियो, तर उनको व्यस्तताका कारण सम्भव भएन ।
त्यसपछि विद्यमान आर्थिक अवस्थाकाबीच दर्जनौँ उद्योगी–व्यवसायीहरूलाई अवार्ड वितरणका निम्ति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उपयुक्त ठानेर उनको समय लिने काम भयो । उनले दिएको समय
(फागुन २० गते साँझ ५ः ३० बजे) का लागि कार्यक्रम तय भयो र सोही अनुसार तयारी गरियो ।
कार्यक्रमको दिन आयो । आयोजकले निमन्त्रणा गरे अनुसार उक्त दिन ठिक ५ बजे आयोजक, अवार्ड प्राप्त गर्ने मुर्धन्य व्यक्ति–व्यक्तित्वहरू, उद्योगी व्यवसायीसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सबै वाणिज्य तथा विकास बैंक, जीवन तथा निर्जीवन बीमा कम्पनीका सीईओहरू र विभिन्न व्यावसायिक क्षेत्रबाट प्रतिनिधित्व गर्दै दुई सय जना भन्दा बढी सहभागीहरू कार्यक्रमस्थल पुगिसकेका थिए ।
सबैले कार्यक्रमका प्रमुख आकर्षण अर्थमन्त्री डा. प्रकाशशरण महत आउने बाटो कुरिरहेका थिए । तर, साढे ५ बजे आइपुग्नुपर्ने अर्थमन्त्री साढे ६ बजेसम्म पनि आइपुगेनन् र कार्यक्रम सुरू हुनै सकेन । आयोजकका तर्फबाट उनका सचिवालय र सहयोगीहरूमार्फत जानकारी लिँदा अर्थमन्त्री महतलाई आकस्मिकरूपमा पार्टीले बोलाएकाले पार्टीको बैठकमा गएको जानकारी प्राप्त भयो । त्यसो त अघिल्लो दिनदेखि नै सरकार परिवर्तन वा राजनीतिक समीकरणमा फेरबदल आउने हल्लाहरू चलिसकेका थिए । संयोगले त्यसैदिन राजनीतिक पार्टीहरू गम्भीर छलफलमा जुटेका रहेछन् र कार्यक्रममा अर्थमन्त्री सहभागी हुन नसकेका रहेछन् ।
त्यसबारे प्राप्त सूचनाहरू कार्यक्रम हलमा जानकारी गराइयो । सम्मानित हुने र सहभागीहरू सबैमा निराशा छायो भने आयोजकलाई कार्यक्रम अघि बढाउने कि नबढाउने भन्ने द्विविधा सृजना भयो । सामान्य कार्यक्रम हुन्थ्यो भने उपस्थितमध्येका उपयुक्त व्यक्तिलाई प्रमुख अतिथि बनाएर अघि बढ्न सकिन्थ्यो, तर प्रतिष्ठित व्यक्ति–व्यक्तित्वहरूलाई महत्वपूर्ण अवार्ड वितरणको मामिलाले आयोजकलाई दोधार बनायो ।
सम्पूर्ण तयारी भइसकेको तथा सहभागीहरूले कार्यक्रम हलमा पुगेर करिब दुई घण्टा अर्थमन्त्रीको पर्खाइमा बिताइसकेको अवस्थामा कार्यक्रम रोक्नु उचित नहुने निष्कर्षका साथ अघि बढाइयो र विद्युत्् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहमार्फत अवार्ड वितरण गरियो । तर, मन्तव्यका क्रममा भने उद्योगी–व्यवसायीहरूले अर्थमन्त्रीको अनुपस्थितिलाई स्वाभाविक र सन्तुष्टरूपमा लिएनन् । जस्तोसुकै परिस्थिति सृजना भए पनि देशको अर्थतन्त्र धान्ने सयौँ उद्योगी–व्यवसायी उपस्थित भएको फोरम र अवार्ड वितरणजस्तो महत्वपूर्ण कार्यक्रममा छोटो समयका लागि भए पनि उपस्थिति जनाउनुपर्ने उनीहरूको भनाइ थियो । अर्थमन्त्रीको अनुपस्थितिलाई समग्र निजी क्षेत्रप्रतिको उपेक्षा र गैरजिम्मेवारपूर्ण व्यवहारका रूपमा समेत उनीहरूले चर्चा गरे ।
अवार्ड कार्यक्रममा कसले के भने ?
निजी क्षेत्रलाई कर्पोरेट अवार्डले उत्साहित बनायो : प्रदीप श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघको पूर्वध्यक्ष एवम् पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले समग्र निजी क्षेत्रको मनोबल गिरिरहेको बेला कर्पोरेट म्यागजिनले उत्साह भरेको बताए । मुलुकको खराब अर्थतन्त्रबीच गुज्रिरहेका उद्योगी तथा व्यवसायीहरूलाई कर्पोरेट अवार्डले नयाँ रक्तसञ्चार गरेको भन्दै उनले भने, ‘अहिले आर्थिक अवस्था खुम्चिएको समयमा हाम्रा उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने जमर्को गरिदिएकोमा हामी सम्मानित हुने सबै व्यक्तिहरूको तर्फबाट कर्पोरेट मिडियालाई विशेष धन्यवाद दिन चाहान्छौँ । यस क्रममा मलाई पनि सम्मान गरेर उत्साह भरिदिनुभएको छ । यसले मलाई निकै उत्साहित बनाएको छ ।’
उद्योग वाणिज्य क्षेत्रको अहिलेको अवस्था र राजनीतिमा भुइँचालो भएको बेला र उद्यमी व्यवसायी वर्गको कन्फिडेन्स लुज भएको समयमा निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरू एक भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए । ‘उद्यमी व्यवसायीको हकहितका लागि कलेक्टिभ इफोर्ट लगाउनुपर्ने अवस्था छ । हाम्रा थ्री एपेक्स बिजनेश बडी मिल्नुपर्छ,’ उनले भने ।
उद्योगी भेला भएको ठाउँमा अर्थमन्त्री नआउनु गम्भीर : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणाले राजनीति हाबी हुँदासम्म नेपालमा आर्थिक समृद्धि आउन नसक्ने बताइन् । आर्थिक क्षेत्रमा अहिले पनि राजनीति हाबी भएको र त्यसले मुलुकलाई समृद्धितिर लैजान नसक्ने उनको भनाइ थियो ।
‘अहिले पनि हामीकहाँ पोलिटिक्स नै हाबी छ । विभिन्न चरण पार गर्दै प्रजातन्त्र र लोकतन्त्रमा आइसक्दा पनि हाम्रो राजनीतिक आचरण फेरिएको छैन,’ पूर्वध्यक्ष राणाले भनिन् । ‘लोकतन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा त केही होला भन्ने आशा थियो । सबैको एजेण्डा आर्थिक समृद्धि नै थियो । तर, अहिले पनि हामी त्यही पोलिटिक्सभित्र रुमलिइरहेका छौँ । आज (फागुन २०)को घटना (अर्थमन्त्रीको अनुपस्थिति)ले त्यो देखाएको छ । यसले हामीलाई समृद्धितर्फ अघि बढ्न पक्कै बाधा पु¥याउँछ ।’
कर्पोरेट मिडियाले आयोजना गरेको अवार्ड कार्यक्रम समग्र निजी क्षेत्रका व्यक्तिहरूका लागि हौसला दिने प्लेटफर्म र उपयुक्त वातावरण भएको उल्लेख गर्दै उनले यस्तो कार्यक्रममा अर्थमन्त्रीको अनुपस्थितिले दुःखीत तुल्याएको बताइन् । ‘यो कार्यक्रममा अर्थमन्त्रीज्यू आउनुहुने कुरा थियो । तर, उहाँ आउनुभएन,’ अवार्ड छनोट समितिकी संयोजक समेत रहेकी राणाले भनिन्, ‘अहिले पनि यो अवार्ड सेरेमोनी भनेको प्राइभेट सेक्टरका व्यक्तिहरूलाई हौसला दिनका लागि इम्पोर्टेन्ट कार्यक्रम हो । राज्यको तहबाट हुनुपर्ने काम कर्पोरेट खबरले यति राम्रो वातावरण बनाउँदा पनि यस्तो ठाउँमा हाम्रो अर्थमन्त्री आउन सक्नुभएन ।’
अर्थमन्त्रीको अनुपस्थितिले समग्र उद्योगी व्यवसायीमाथि उपेक्षा भएको आभाष भइरहेको उनको भनाइ थियो । राज्यले गर्दै आएको उपेक्षाप्रति लक्षित गर्दै उनले व्यावसायिक घटक संस्थाहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । ‘साथीहरू, हामीहरूको एउटा सोलिडारिटी त छँदैछ अझ पनि हाम्रा तीन वटै व्यावसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्श आपसमा मिलेर अघि बढ्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई राज्यले उपयुक्त भूमिका दिने हो भने आफूहरूले ६ महिनामा कायापलट गरिने धारणा उनको थियो । ‘यदि राज्यले निजी क्षेत्रलाई तिमी गर भनेर जिम्मेवारी दिने हो भने मलाई लाग्छ ६ महिनाभित्र कायापलट गर्नेछौँ । त्यसैले हामी गरिरहेका छौँ । अझै जोडका साथै लागौँ भन्न चाहान्छु,’ उनले भनिन् ।
कर्पोरेट अनलाइन र म्यागजिन मात्रै नभएर वर्षैपिच्छे अवार्ड गरेर हौसला दिँदै आएको मिडिया भएको उनले बताइन् । ‘अहिलेको अवस्था निजी क्षेत्रका लागि मनोबल गिरेको, अर्थतन्त्र ओरालो लागेको र भोलि के हुन्छ भनेर त्रसित भएको अवस्था हो । यस्तो बेला उद्योगी व्यवसायीलाई प्राप्त अवार्डले हौसला थप्ने विश्वास मलाइ छ,’ उनले भनिन् । व्यवसायीको काम एप्रिसियट गरेकामा खुसी व्यक्त गर्दै उनले आफूलाई समेत यसअघि अवार्ड दिएर हौसला प्रदान गरेको स्मरण गरिन् ।
राज्यबाट प्रताडित उद्योगीलाई कर्पोरेट अवार्ड ‘सञ्जीवनी’ : अञ्जन श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान विषम् परिस्थितिमा कर्पोरेट म्यागजिन र कर्पोरेट खबरले निजी क्षेत्रका हस्तीहरूलाई प्रदान गरेको ‘कर्पोरेट बिजनेश अवार्ड’ अनुकरणीय कार्य भएको बताए । राज्यले व्यवसायीका कुरा सुन्ने भन्दा बढी थुन्ने रणनीति लिएर प्रताडित बनाइरहेको बेलामा कर्पोरेट अवार्डले थोरै भए पनि ‘सञ्जीवनी’को काम गर्ने उनको भनाइ थियो ।
राज्यबाट उद्योगी तथा व्यवसायीहरू त्रसित भइरहेको र आर्थिक अवस्था सङ्कुचन हुँदै गइरहेका बेला निजी क्षेत्रबाटै सञ्चालित मिडिया हाउसले ऊर्जा र उत्प्रेरणा भर्ने काम गरेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘व्यवसायीहरू ‘राज्यबाट’ त्रसित भइरहेका छन् । आर्थिक जर्जरताका कारण अर्थतन्त्र सङ्कुचित हुँदै गइरहेको बेलामा पीडाको घडीमा बसेको व्यवसायीको मनोबल उच्च बनाउन कर्पोरेट म्यागजिनले गरेको यो कार्य निश्चय पनि अनुकरणीय कार्य हो । यसका लागि कर्पोरट परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
नेपालको उद्योग व्यवसाय विषम् परिस्थितिमा र राजनीति चुनौतीपूर्ण घडीमा रहेको चर्चा गर्दै उनले कानुनलाई कन्फ्युजन तरिकाले व्याख्या गरेर व्यवसायीलाई बिनाकारण थुन्ने कार्य भइरहेकोप्रति दुःख व्यक्त गरे । ‘व्यवसाय विषम् परिस्थितिमा छ । राजनीति पनि चुनौतीपूर्ण घडीमा छ । व्यवसायी प्रताडित अवस्थामा छन् । व्यवसायीलाई सुन्ने होइन थुन्ने किसिमतिर सरकार गइरहेको छ । कानुन कता गइरहेको छ ? कानुनका परिभाषा कन्फ्युजन गराइयो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘देवानी प्रकृतिको मुद्दा हो कि फौजदारी हो ? सबै मुद्दाहरूलाई आ–आफ्नै किसिमले परिभाषित गरेर फौजदारी अभियोगतिर लगेर व्यवसायी थुन्ने काम भइरहेको छ । हामीलाई साह्रै पीडा छ । सह्य छैन ।’
लक्ष्मी ग्रुपका अध्यक्ष समेत रहेका आफ्ना पिता गणेश बहादुर श्रेष्ठलाई कर्पोरेट अवार्डअन्तर्गत ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्दा आफू भावुक र उत्साहित बनेको बताउँदै उनले भने, ‘म आज भावुक र उत्साहित भएको छु । पिताजीले लाइफटाइम अवार्ड प्राप्त गर्नु मेरा लागि आजको दिन अत्यन्तै गौरवपूर्ण हो । पिताजीकै नेतृत्वबाट लक्ष्मी ग्रुप यहाँसम्म आएको हो ।’
अर्थमन्त्रीले निजी क्षेत्रलाई नेग्लेट गर्नुभयो : कमलेश कुमार अग्रवाल
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक क्षेत्रमा क्रियाशील व्यक्ति–व्यक्तित्वहरूका लागि कुनै पनि अवार्ड सामान्य कुरा नभएको बताए । अवार्ड पाउनेका लागि सम्मान र अन्यका लागि उत्प्रेरणा हुने भन्दै आर्थिक क्षेत्रका लागि ‘कर्पोरेट बिजनेस अवार्ड’ सामान्य कुरा नभएको बताएका हुन् ।
‘अवार्ड सामान्य कुरा होइन, पाउनेका लागि रिकग्नेशन हो भने आगामी अवार्ड आफूले पाउनुपर्छ भनेर सबैका लागि इन्स्पिरेसन पनि हो । त्यसकारण यो मोटिभेसन हो । यसकारण कर्पोरेट अवार्ड बिजनेस क्षेत्रका लागि ठूलो महत्वको विषय हो,’ उनले भने । आर्थिक शिथिलताको बेलामा उद्यमी व्यवसायीलाई मोटिभेसन गर्ने काम गरेकामा वरिष्ठ उपाध्यक्ष अग्रवालले कर्पोरेट मिडियालाई धन्यवाद दिए ।
‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ समारोहमा आउँछु भनेर पनि बिनासूचना नआएका अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र निजी क्षेत्रलाई उपेक्षा गरेको उनको भनाइ थियो । ‘राज्यले आर्थिक क्षेत्रलाई फेरि पनि नेग्लेट गरेको महसुस आज फेरि मैले गरेँ । हामी बारम्बार भन्दै आइरहेका छौँ कि राज्यले आर्थिक क्षेत्रलाई महत्व दिइरहेको छैन । आज पनि यहाँ माननीय अर्थमन्त्रीज्यू आउने भन्नुभयो तर यत्रोबेरसम्म कुर्दा पनि आउनुभएन,’ अग्रवालले भने, ‘हो मानिसको जीवनमा कुनै पनि अवस्थामा अनेबल सर्कमस्टेन्थ आउन सक्छ, तर त्यसको उचित व्यवस्थापन गर्नुपर्छ । त्यो मैले कमी महसुस गरेँ ।’
यसैगरी उनले राज्यले कुशल व्यवस्थापन नगर्दा अहिले मुलुकले आर्थिक शिथिलताको अवस्था भोग्नु परिरहेको बताए । निजी क्षेत्र एक भएर कठोर कदम नचाले विद्यमान समस्याबाट मुक्ति पाउन गाह्रो हुने भन्दै सबै मिलेर यसबाट मुक्ति पाउने प्रयासमा लाग्नुपर्ने धारणा उनले व्यक्त गरे । समयमै आर्थिक सङ्कटबाट मुक्ति पाउन नसके सर्वसाधारण युवायुवती मात्र नभइ उद्यमी व्यवसायी नै पलायन हुनुपर्ने अवस्था आउने उनको भनाइ छ ।
रोलमोडल त बन्नुभयो, टिकाएर पनि राख्नुहोला : दिल्लीबहादुर सिंह
विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले ‘कर्पोरे बिजनेश अवार्ड, २०८०’ प्राप्त गर्ने सबैले आफूले पाएको सम्मान टिकाएर राख्नुपर्ने र थप नयाँ र राम्रो काम गर्नुपर्ने बताए । आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी रोलमोडल बनेर कर्पोरेट अवार्ड पाउन सफल भएकाहरूलाई हार्दिक बधाई तथा शुभकामना दिँदै उनले सम्मानलाई सामान्य रूपमा लिएर थप नयाँ र राम्रो काम गर्ने उत्प्रेरणा लिनुपर्ने बताए ।
एक पटक पहिलो भइसकेको व्यक्तिलाई दोस्रो हुन धेरै नै पीडा हुने घटनाहरूको स्मरण गराउँदै उनले अहिलेको अवस्थालाई जोगाउँदै थप राम्रो काम गर्नुपर्नेमा सम्मानितहरूको ध्यानाकर्षण गराएका थिए । ‘यहाँहरूमध्ये जो–जसले आज अवार्ड पाउनुभयो, त्यसले अब तपाइँहरूलाई नै पोल्नेछ । मैले आज प्राप्त गरेको सम्मानलाई भोलि अरु कसैले पो उछिन्छ कि भन्ने चिन्ता तपाइँमा हुन्छ र त्यो स्वाभाविक रूपमा हुनुपर्दछ पनि,’ उनले भने । सम्मान पाउने सबैले आगामी दिनमा झन्–झन् राम्रो गर्दै आउने विश्वास उनले व्यक्त गरे ।
अवस्था सहज छैन, तर कर्तव्य भुलेका छैनौँ : उज्वल जंग शाह
कर्पोरेट मिडिया ग्रुपमा अध्यक्ष उज्वल जंग शाहले पूर्वनिर्धारित कर्पोरेट अवार्ड कार्यक्रमको अन्तिम समयमा अर्थमन्त्री प्रकाशशरण महत नआइदिँदा अवार्डको सबै सेड्युलहरू बिग्रिएको र कार्यक्रममा थुप्रै त्रुटी भएको बताए । अत्यन्तै प्रतिकुल अवस्थाका बीच पनि आफ्नो कर्तव्य नभुली कर्पोरेट मिडियाले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री नआउनु आश्चर्यको विषय भएको उनको भनाइ थियो ।
‘लास्ट टाइम अर्थमन्त्रीज्यूसँग मैले लामो कुराकानी गरेको थिएँ । लगानी सम्मेलनका लागि पनि धेरै कामहरू सँगसँगै गरिरहेका थियौँ । तर, अच्चानक राजनीतिक फेरबदल हुँदा उहाँ आउन पाउनुभएन । त्यसले गर्दा हामी केही द्विविधामा परेका छौँ भने उहाँको अनुपस्थितिमा केही सेड्युलहरू बिग्रिएका छन्,’ अध्यक्ष शाहले भने । सहज लगानीका लागि निजी क्षेत्रले स्थिर सरकार खोजिरहेको भए पनि नेपालको राजनीतिले त्यो दिन नसकेको बताउँदै उनले बिजनेश कम्युनिटीलाई पछिल्लो समय धेरै नै गाह्रो भइरहेको चर्चा गरे ।
कर्पोरे बिजनेस अवार्ड कार्यक्रमलाई सफल पार्नका निम्ति समेत आफूहरूले आर्थिक रूपमा धेरै असहज अवस्था झेल्न परेको भन्दै उनले ८० प्रतिशत भन्दा बढी बिजनेश डाउन भएको चर्चा गरे । तै पनि उद्योगी व्यवसायीको मनोबल बढाउनका निम्ति आफूहरूले असहज परिस्थितिका बीच कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो । ट्याक्सलगायत राज्यका कतिपय नीतिले उद्योगी–व्यवसायीहरूको आत्मबल र मनोबल खस्केको र खस्केको मनोबल बढाउने प्रयत्नस्वरूप गाह्रो हुँदा हुँदै पनि कर्पोरेट खबरले अवार्ड कार्यक्रम आयोजना गरेको उनले स्पष्ट गरे ।
अर्थमन्त्री प्रकाशशरण महतजीले उद्योगी–व्यवसायीलाई उपेक्षा गर्नुभएकै हो : प्रकाशजंग रायमाझी
राजनीतिक विश्लेषक प्रकाशजंग रायमाझीले समग्रह उद्योगी–व्यवसायीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले हदैसम्मको उपेक्षा गरेको बताए । सयौँ उद्योगी तथा व्यवसायीहरू उपस्थित रहेको कार्यक्रममा समय दिएर पनि अन्तिम समयमा सहभागी नहुनु चरम उपेक्षा भएको उनले बताएका हुन् ।
उद्योगी व्यवसायीहरूले आफ्नो सामथ्र्य नचिनेर राजनीतिक दलका नेताहरूको चाकडी गर्न थाल्दा उनीहरूले उद्योगी व्यवसायीमाथि नै उपेक्षा गर्न थालेको उनको भनाइ थियो । ‘आज मन्त्रीजी आउनुहुन्थ्यो, प्रकाशशरणजी यहाँ आउन कुनै ठूलो कुरा थिएन । तर, उहाँ आउनुभएन किनकी यो तपाइँहरूमाथि उहाँले गर्नुभएको उपेक्षा हो । जसले कर तिरेर राज्यको भरणपोषण गरिरहेको छ उसैलाई राज्यले उपेक्षा गर्नु राम्रो होइन । तपाइँहरूको त हर क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने हो । तर तपाइँहरू राज्यबाटै आतंकित भएर बस्न परिरहेको छ,’ उनले भने ।
राष्ट्र बनाउन महत्वपूर्ण योगदान गरेका व्यवसायीहरूलाई उपेक्षा गर्दै अपराधी करार गर्न थालिएको घटनाहरूप्रति दुःख व्यक्त गर्दै रायमाझीले भने, ‘यो राष्ट्रको तपाइँहरू गहना हुनुहुन्छ । राज्यलाई तपाइँहरूले कर तिरिरहनुभएको छ । तपाइँहरूले नङ र मासु खियाएर आफ्नो सबै श्रीसम्पत्ति बैंकमा राखेर उद्योग व्यवसाय गर्नुहुन्छ । यो क्रममा कयौँ पीडा र कष्टहरू पनि सहनुहुन्छ । यति हुँदाहुँदै पनि तपाइँहरूलाई राज्यले बेवास्ता गर्छ । प्रशासनमा जाँदा एउटा मामोली कर्मचारीले तपाइँहरूलाई उपेक्षाको दृष्टिले हेर्छ । उद्योगपति र व्यवसायी हुनु के अपराध हो ? तपाइँहरू प्रहरीबाट लखेटिनुपर्ने ? अनि तपाइँहरूले देवानी प्रकृतिको मुद्दामा फौजदारी अभियोगमा जोतिनुपर्ने ? यो राष्ट्र बनाउन तपाइँहरूको महत्वपूर्ण योगदान छ, तर तपाइँहरू उपेक्षित र अपहेलित हुनुहुन्छ । यसको मुख्य कारण नै तपाइँहरूले राजनीतिलाई बढी महत्व दिएर हो ।’ देश बनाउने ल्याकत राख्नेहरूले राजनीतिज्ञको गुलामी बन्द गर्नुपर्ने उनको सुझाव थियो ।
महङ्गी, मन्दी र मरणले विचलित छौँ, राज्य कतै भेटिदैन : सुष्मा महरा
कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष, फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले नेपाली नागरिकहरू महङ्गी, मन्दी र मरणले विचलित भइरहँदा पनि राज्यले कुनै वास्ता नगरेको बताइन् । कर्पोरेट बिजनेश अवार्ड समारोहमा धन्यवाद मन्तव्य व्यक्त गर्दै उनले अहिलेको अवस्थामा मानिसहरूलाई जिउन नै मुश्किल परिरहेको र राज्यले वास्ता नगरेको बताएकी हुन् ।
‘महङ्गी, मन्दी र मरणले मानिसहरू विचलित छन्, जिउन गाह्रो छ । आफ्नै देशमा बसेर केही गर्नेलाई सरकारले कुनै संरक्षण दिन सकिरहेको छैन । यसकारण अब उद्योगी व्यवसायीहरू नै विदेश पलायन हुने स्थिति आउन थालेको छ राज्यले यो विषम् परिस्थितिलाई चाँडो बुझोस् र देशका लागि देशमै बसेर केही गरिरहेकाहरूको संरक्षण गरोस्,’ उनले भनिन् ।
कर्पोरे अवार्ड पूर्वनिर्धारित कार्यक्रम भएको र कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा. प्रकाशशरण महत पूर्वनिर्धारित भएको जानकारी दिँदै उनले अर्थमन्त्रीको अनुपस्थितिमा पनि कार्यक्रम अघि बढाउन आफूहरू बाध्य भएको जानकारी दिइन् । ‘मन्त्रीजी नआउनुहुँदा पनि कार्यक्रम सफल बनाउन साथ दिनुभयो त्यसका लागि सबैप्रति हामी आभारी छौँ । केही त्रुटीहरू पनि भएका छन् । यसलाई आगामी दिनमा सच्याएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ । सो अवसरमा उनले कर्पोरेट खबरले सत्यतथ्यका आधारमा खबर लेख्दा सात वर्षसम्म मुद्दा खेप्नुपरेको र भर्खरै मात्र उक्त मुद्दा आफूहरूले जितेको स्मरण पनि गरिन् । कर्पोरेट म्यागजिनबाट
FACEBOOK COMMENTS