काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले फोटो पत्रकार प्रदिप राज वन्तलाई ‘कर्पोरेट फोटो जर्नालिज्म एक्सिलेन्सी अवार्ड’ प्रदान गरेको छ ।
१८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत वन्तलाई सो अवार्ड प्रदान गरिएको हो । ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले बिहीबार काठमाडौंस्थित होटेल र्याडिसनमा आयोजना गरेको विशेष समारोहमार्फत प्रतिनिधसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले वन्तलाई सो अवार्ड प्रदान गरे ।
फोटो पत्रकारिताको विकास, पेशागत नेतृत्व र तस्बिरमार्फत इतिहास सुरक्षित राख्न पुर्याएको योगदानका लागि सो अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।

दुई दशकदेखि सक्रिय नेपालका स्थापित र वरिष्ठ फोटो पत्रकार वन्त राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । हाल राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय र निर्वाचन आयोगको आधिकारिक फोटोग्राफरका रूपमा समेत काम गरिसकेका छन् ।

उनको एकल फोटो प्रदर्शनी ‘फ्लाइट एन्ड फ्रेम’ (२०२५) निकै चर्चित रह्यो । ‘वर्ल्ड बुक अफ रेकड्र्स’ लगायतका पुरस्कारबाट उनी सम्मानित व्यक्तित्व हुन् ।

कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको अध्यक्ष शाहले जानकारी दिए । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले विगत १८ वर्षदेखि ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गर्दै आएको उनको भनाइ छ ।


कार्यक्रममा अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे पनि छलफल गरिएको थियो । यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार, रोजगारी सिर्जना तथा आर्थिक सुधारका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सङ्घीय सांसद, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । साथै, देशभरका उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, स्वास्थ्य संस्था, ऊर्जा क्षेत्र तथा अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।