काठमाडौँ । बंगलादेशको एक विशेष अदालतले ढाका प्रहरीका पूर्व आयुक्त र दुई अन्य प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सोमबार अदालतले २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पद त्याग्न बाध्य पार्ने हिंसात्मक सडक विरोध प्रदर्शनमा उनीहरूको कथित भूमिकाको लागि मृत्युदण्डको सजाय सुनाएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन न्यायाधीशको बेन्चले पूर्व ढाका महानगरीय प्रहरी आयुक्त हबिबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उपायुक्त मोहम्मद अख्तरुल इस्लामलाई सजाय सुनाएको हो । बेन्चको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मुर्तजा मजुमदारले गरेका थिए ।
पुनर्गठित न्यायाधिकरणको यो दोस्रो फैसला हो । यसअघि, न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाएको थियो ।

फैसलामा तीन प्रहरी अधिकारीहरूले आफ्ना मातहतका कर्मचारीहरूमाथि उच्च पद र अधिकार प्रयोग गरेको बताइएको छ ।

त्यस्तै न्यायाधिकरणले ढाकाका सहायक प्रहरी आयुक्त मोहम्मद इमरुललाई छ वर्ष, निरीक्षक अरशद हुसेनलाई चार वर्ष र तीन हवल्दार सुजान हुसेन, इमाज हुसेन र नसिरुल इस्लामलाई तीन(तीन वर्षको सजाय सुनाएको छ ।

मृत्युदण्डको सजाय सुनाइएका तीन पूर्व प्रहरी अधिकारीहरूमध्ये सहायक आयुक्त इमरुलको मुद्दा उनको अनुपस्थितिमा चलाइएको थियो किनभने न्यायाधिकरणले उनलाई पहिले नै फरार घोषित गरिसकेको थियो । बाँकी अभियुक्तहरूले अदालतमा मुद्दाको सामना गर्नुपरेको थियो ।

FACEBOOK COMMENTS