काठमाडौं । काठमाडौंको बौद्धस्थित कोजी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरमा आबद्ध सोमकुमारी पलम्पाकी उर्फ डा. रेखा थापाले ब्युटी क्लिनिकमार्फत आफूले कुनै पनि ‘डाक्टरी सेवा’ नदिएको दाबी गरेकी छिन् ।
केही दिनअघि कर्पोरेट खबर अनलाइनमा प्रकाशित ‘काठमाडौंका दुई ब्युटी क्लिनिकमा छापा, प्रहरीलाई जिम्मा लगाइँदै’ शीर्षकको समाचारमा उल्लेख गरिएका विषयहरूमाथि खण्डन रहेको भन्दै उनले आफू डाक्टर भए पनि ब्युटी सलोनमार्फत ‘डाक्टरी सेवा’ नदिएको दाबी गरेकी हुन् ।
‘प्रकाशित/प्रशारित सामग्रीमा डा. भइ सेवा दिएको भनी उल्लेख भएको रहेछ । उक्त विषय फरक परेको छ । यथार्थ त्यस्तो सेवा नदिएको रहेको छ,’ उनले समाचारप्रतिको आफ्नो भनाइमा उल्लेख गरेकी छिन्, ‘मैले पूर्णरूपमा कोजी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरमा आवद्ध भइ काम गर्दै आएको र क्लिनिकमा काम नगरेको व्यहोरा जनाउँदछु ।’
यस्तै, उनले नेपाल मेडिकल काउन्सिल नेतृत्वको टोलीले आफ्नो ब्युटीपार्लरमा अनुगमन गर्नुअगावै समाचार सम्प्रेषण गरी व्यक्तिगत जीवन तथा व्यावसायिक प्रतिष्ठामा आँच पुर्याएको दाबी पनि गरेकी छिन् । ‘मेडिकल काउन्सिलबाट अनुगमनका लागि आएपछि अनुसन्धान हुनुअगाडि नै बिनाजानकारी यो समाचार सम्प्रेषण भएको छ । यसमा तपाइँको सञ्चार माध्यमबाट मलाई सोधपुछ नै नगरी बिना आधार भ्रामक समाचार फैलाइएको छ,’ उनले भनेकी छिन्, ‘यसबाट मेरो व्यक्तिगत जीवन तथा व्यावसायिक प्रतिष्ठामा आँच पुगेको छ ।’
सम्पादकीय नोटः प्रस्तुत समाचारप्रति तपाइँको ध्यानाकर्षण र खण्डनप्रति सम्मान छ । चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र (लाइसेन्स) नलिइ चिकित्सकका रुपमा प्रस्तुत गरेर सेवा दिएको गुनासो आएको भन्दै गत वैशाख २८ गते कोजी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर र जेनी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर नामको ‘ब्युटी क्लिनिक’मा नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डम्र्याटोलोजी सोसाइटीको संयुक्त टोलीले छापा मारेको र सोही संस्थासँग सम्बन्धित व्यक्तिहरूबाट प्राप्त जानकारी र सूचनालाई आधार मानेर तयार पारिएको समाचार सामग्री अनुगमनअघिनै सम्प्रेषण हुनु असम्भव छ ।
सौन्दर्यकला केवल सुन्दरताको विषय मात्रै होइन यससँग सेवाग्राहीको स्वास्थ्यस्थिति पनि जोडिने भएकाले समाचारमा ‘ब्युटी क्लिनिक’ शब्द प्रयोग गरिएको हो । त्यसमाथि डा. थापा आवद्ध ब्युटी सलोनमै २०७८/०७९ देखि ‘स्किन र हेयर क्लिनिक’ सेवा सुरू गरेको भनी सार्वजनिक सञ्चारमाध्यममा स्वयमले अन्तर्वार्ता समेत दिएकी छिन् ।
‘डाक्टरी सेवा दिएको’ हाम्रो आरोप वा दाबी केही पनि होइन, अनुगमन टोलीले अनुगमन गर्नुको आधारबारे हामीलाई बताएको तथ्य हो । त्यसबारे थापाले अझैसम्म कागजात पेश गर्न नसकेको भन्दै मेडिकल काउन्सिलको बैठकले अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिने निर्णयसमेत गरिसकेको अवस्थामा सत्य कुरा अनुसन्धानपछि नै आउला ।
कोही व्यक्ति वा उसको व्यावसायिक प्रतिष्ठामा आँच पुर्याउने उद्देश्य समाचारले राखेको छैन । त्यस्ता कुरामा हामी सचेत पनि छौँ । तर, समाजमा व्याप्त मानार्थ र नक्कली डाक्टरको बिगबिगीले जनस्वास्थ्यप्रति गरिरहेको खेलबाडलाई उजागर गर्नु जिम्मेवार सञ्चारमाध्यमको धर्म ठानेका छौँ ।
पढ्नुहोस् रेखा थापाका यी दुई पत्र–
विषय र प्रसङ्गबारे थप जान्न तलका लिंक क्लिक गर्नुहास्–
काठमाडौंका दुई ब्युटी क्लिनिकमा छापा, प्रहरीलाई जिम्मा लगाइँदै
ब्युटी क्लिनिकका नक्कली डाक्टरहरूको कागजात सीआईबीलाई बुझाइँदै
FACEBOOK COMMENTS