काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दुईवटा ब्युटी क्लिनिकबाट जफत गरिएका नक्कली डाक्टरहरूका कागजातहरू आवश्यक अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाउने भएको छ ।
बुधबार बसेको काउन्सिलको पूर्ण बैठकले छापा मार्ने क्रममा जफत गरिएका कागजातहरूको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा लगाउने निर्णय गरेको हो ।
नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले केही दिनअघि काठमाडौंका दुई ब्युटी क्लिनिक जेनी ब्युटी सैलुन एण्ड ट्रेनिङ सेन्टर र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरीमा छापा मारेको थियो । चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र (लाइसेन्स) नलिई सेवा प्रवाह गरिरहेको गुनासोका आधारमा तीनवटा संस्थाले संयुक्तरूपमा अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा ती ब्युटी क्लिनिकमा कार्यरत व्यक्तिहरूले अनुमतिपत्रबिनै नामको अगाडि ‘डाक्टर’ लेखेर सेवाग्राहीलाई सेवा दिँदै आएको पाइएपछि सम्बन्धित कागजातहरू अनुगमन टोलीले जफत गरेको नेपाल मेडिकल काउन्सिलका सदस्य डा. रुपक घिमिरेले जानकारी दिए ।
उनका अनुसार काउन्सिलको बैठकले कोजी क्लिनिक अफ कस्मेटिक सर्जरीसँग सम्बन्धित कागजातहरू अनुसन्धानका लागि प्रक्रिया अनुसार सीआईबीलाई बुझाउने र जेनी ब्युटी सैलुन एण्ड ट्रेनिङ सेन्टरलाई सचेत गराउने निर्णय गरेको छ । जेनीका प्रतिनिधिले आफूले ब्युटीपार्लरसम्बन्धी काम छोडिसकेको र आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेपछि सचेत गराएर छोडिएको जानकारी डा. घिमिरेले दिए ।

उनले आफूहरू कारवाही गर्ने निकाय नभएकाले अनुगमन मात्रै गरिएको स्पष्ट गरे । यस्तो अनुगमन आगामी दिनमा पनि निरन्तर गरिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्–

काठमाडौंका दुई ब्युटी क्लिनिकमा छापा, प्रहरीलाई जिम्मा लगाइँदै