काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले समीक्षात्मक धारणा राखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ बजे बसेको केन्द्रीय सचिवालय बैठकमा छ घण्टाभन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा घनिभूत छलफल गरिएको छ ।
साँझ बैठकपछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए ।
आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउँदै उनले नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिए । सचिवालयको अर्को बैठक भोलि बिहान ११:३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुन: बस्ने गरी स्थगन भएको उनले जानकारी दिए ।