काठमाडौ । नेकपा एमालेले चुनावको बेला बागी-विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नविकरण गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–८ मा कारबाहीमा परेकालाई आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेको पार्टी सदस्यता नवीकरण गर्ने भनिएको छ । अपानीमा अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने जनाएको छ । पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ ।
पार्टीले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको अपानीमा जनाइएको छ ।
उम्मेदवारी शुल्क पाँच सय मात्र
पार्टीले अधिवेशनमा उमेदवारी शुल्क अधिकतम पाँच सय कायम गर्ने निर्णय गरेको छ । अन्तरपार्टी निर्देशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट प्रतिकूल रहेकाले अधिवेशनमा उमेद्वारी शुल्क अधिकतम् पाँच कायम गर्ने निर्णय गरिएको उल्लेख छ । पार्टीले विभिन्न पदको उमेदवारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम शुल्कको आधारमा मिलाउन समेत निर्देशत गरेको छ ।
FACEBOOK COMMENTS