मुढेशनिश्चरे, (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।
धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उनले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास निर्माणका काम प्रभावित भएको बतााए । उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा समस्या समाधानमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यले जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला सङ्खुवासभाले ती स्रोतको सदुपयोग गरी विकासमा फड्को मार्न सक्ने उल्लेख गरे । उनले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सचिवालयले काम गरिरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सङ्खुवासभाको ९० प्रतिशत भाग पूर्ण विद्युतीकरण भइसकेकाले बाँकी स्थानमा पनि चाँडै बिजुली पुर्याइने बताए ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पहाडी जिल्ला सङ्खुवासभामा पहिरोको जोखिमलाई दृष्टिगत गर्दै साना-साना सिँचाइका आयोजना कार्यान्वयन गरिने बताए ।
FACEBOOK COMMENTS