काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले अल–न्यू दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ ।
चीनमा आफ्नो सेग्मेन्टको नम्बर एक एसयूभीका रूपमा स्थापित क्यू ०५ ले नेपाली ग्राहकलाई कम्फर्ट, डिजाइन र प्रविधिमा ‘अ क्लास अबभ’ अनुभव प्रदान गर्ने प्रतिबद्धता बोकेको छ ।
नयाँ दिपल निभो क्यू ०५ ले सहरमा सहज रूपमा चलाउन मिल्ने बाहिरी आकारलाई फराकिलो र व्यावहारिक क्याबिनसँग संयोजन गरेको छ । यसको २,७३५ मिमि लामो ह्विलबेसले विशेषगरी पछाडिको सिटमा यात्रा गर्ने यात्रुका लागि पर्याप्त स्पेस उपलब्ध गराउने लक्ष्य राखेको छ ।
रिक्लाइन गर्न मिल्ने पछाडिका सिटले यात्रुको आराम थप बढाउनेछन् भने ५४० लिटरको स्ट्यान्डर्ड बुटले लगेज, किनमेलका सामग्री तथा पारिवारिक यात्राका सामान राख्न पर्याप्त ठाउँ प्रदान गर्नेछ ।
डिजाइन क्यू ०५ को अर्को प्रमुख विशेषता हो । यो गाडी चांगानको ग्लोबल डिजाइन नेटवर्कभित्र विकास गरिएको हो, जसमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनल आबद्ध छन् । उक्त टोलीको नेतृत्व चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्वडिजाइन प्रमुख क्लाउस जेसियोराले गरेका छन् ।

नयाँ क्यू ०५ मा सफा र एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइट सिग्नेचर तथा फराकिलो र आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिन्छ । यसको डिजाइनले गोल्डेन ‘ए’ डिजाइन अवार्डमार्फत अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरिसकेको छ ।
यस इलेक्ट्रिक एसयूभीमा ५१.९ किलोवाट–घण्टाको क्याटल लिथियम–आइरन–फस्फेट ब्याट्री उपलब्ध हुनेछ । जसलाई चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री–सिस्टम प्रविधिसँग एकीकृत गरिएको छ । यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्नेछ भने यसको पिक डीसी चार्जिङ क्षमता १६२ किलोवाटसम्म रहने उल्लेख छ ।
नयाँ क्यू ०५ बलियो अन्तर्राष्ट्रिय बजार उपलब्धिसहित नेपाल आउँदैछ । चांगान निभोले ११ अगस्ट २०२६ सम्म यस मोडलको सञ्चित बिक्री एक लाख युनिट पार गरेको घोषणा गरेको थियो । यसले चीनको कम्प्याक्ट एसयूभी बिक्रीमा लगातार चार महिना शीर्ष स्थान कायम गरेको रिपोर्ट छ ।
फराकिलो क्याबिन, अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिजाइन र उन्नत प्रविधिसहित दिपल निभो क्यू ०५ नेपाली कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारीमा छ–जुन वास्तविक अर्थमा ‘अ क्लास अबभ’ हुने कम्पनीले जनाएको छ ।