काठमाडौं । बलिउडमा ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता ब्लकबस्टर फिल्म निर्देशन गरिसकेका सन्दीप रेड्डी वाङ्गाले दीपिका पादुकोणलाई आफ्नो आउँदो फिल्म ‘स्पिरिट’ को स्क्रिप्ट लिक गरेको आरोप लगाएका छन् ।
दीपिकालाई फिल्मबाट हटाएपछि तृप्ति डिमरीलाई लिएका वाङ्गाले दीपिकाले फिल्मको स्क्रिप्ट लिक गरेको आरोप लगाएका हुन् । वाङ्गाले दीपिकाको नाम नलिई उनले फिल्म छोड्नेबित्तिकै फिल्मको स्क्रिप्ट लिक गरेको आरोप लगाएका छन् ।
वाङ्गाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जब म कुनै कलाकारलाई मेरो स्क्रिप्ट सुनाउँछु, म उसलाई १०० प्रतिशत विश्वास गर्छु । हामीबीच एउटा अघोषित गैर–प्रकटीकरण सम्झौता हुन्छ । तर, यसो गरेर तपाईंले आफू को हुँ भनेर देखाउनुभएको छ । एक युवा कलाकारको अपमान गर्नु र मेरो कथा लिक गर्नु, के यो तपाईंको नारीवाद हो ? एक फिल्म निर्माताको रूपमा मैले आफ्नो कलामा धेरै वर्ष कडा परिश्रम गरेको छु । फिल्म निर्माण नै मेरो लागि सबैथोक हो । तर, तपाईंले यो बुझ्न सक्नुभएन र बुझ्न पनि सक्नु हुने छैन । अर्को पटक पूरै कथा भन्नू, किनकि यसले मलाई केही फरक पार्दैन ।’
वाङ्गाले आफ्नो पोष्टमा दीपिकाको नाम भने उल्लेख गरेका छैनन् तर उनले यो दीपिकालाई नै लक्षित गर्दै लेखेको स्पष्ट छ । सन्दीपले आफ्नो पोष्टमा उल्लेख गरेकी युवा अभिनेत्री तृप्ती डिमरी भएको अनुमान गरिएको छ ।
फिल्म ‘स्पिरिट’ मा प्रभासको अपोजिटमा दीपिका पादुकोणलाई कास्ट गरिएको थियो । दीपिका गर्भवती भएको कारणले फिल्म छोड्न चाहन्थिन्, तर सन्दीप रेड्डी वाङ्गाले उनका लागि फिल्मको छायाङ्कन पनि स्थगित गरिदिए । यसका बाबजुद पनि दीपिकाले फिल्ममा काम गर्नका लागि धेरै शर्तहरू राखिन् । उनी ८ घण्टाको सिफ्ट मात्र पाउनुपर्ने, हप्ताको ५ दिन काम गर्नुपर्ने, नाफामा भाग लिनुपर्ने र तेलेगु संवाद नबोल्नुपर्ने लगायतका मागहरू राखेकी थिइन् ।
अभिनेत्रीको बढ्दो मागबाट असन्तुष्ट सन्दीप रेड्डी वाङ्गाले उनलाई फिल्मबाट हटाए । उनको ठाउँमा तृप्तिलाई फिल्ममा कास्ट गरिएको छ । यसको आधिकारिक घोषणा पनि भइसकेको छ ।
FACEBOOK COMMENTS